९ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

वन्यजन्तु प्रभावित परिवार र बालीनालीको पनि बिमा गर्ने प्रदेश सरकारको घोषणा

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारको स्वास्थ्य बिमा गर्न प्रदेश सरकारले तयार रहेको बताएका छन्।

मंगलबार कोशी प्रदेशका पत्रकारहरूको दुर्घटना बिमा शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार पत्रकारहरूको स्वास्थ्य बिमा गर्न पनि तयार रहेको बताएका हुन्।

कार्कीले पत्रकारिताको विकास र पत्रकारहरूको क्षमता अभिवृद्धि लगायतका कामहरूलाई प्रभावकारी बनाउन कोशी प्रदेश सरकारले प्रदेश आमसञ्चार प्रतिष्ठान गठन गरेको जानकारी दिए।

उनले प्रतिष्ठान मार्फत सञ्चार क्षेत्रको सवलिकरणका लागि प्रदेश सकारले आवश्यक बजेटको समेत व्यवस्था गरेको जानकारी दिए। मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पत्रकारहरूको मात्रै नभई गरिबीको रेखामुनि रहेका करिब डेढ लाख जनसंख्याको पनि स्वास्थ्य बिमा गर्ने तयारी गरिरहेको जानकारी दिए।

त्यस्तै मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि प्रदेश सरकारले वन्यजन्तु प्रभावित क्षेत्रका परिवारका सदस्यहरू, घर, तथा बालीनालीको पनि बिमा गर्ने जानकारी दिए।

कार्कीले गरिबीको रेखामुनिका जनता, प्राकृतिक विपद्मा परेका, वन्यजन्तु प्रभावित जनताको जीउधनको सुरक्षाका लागि बिमा गर्न चाहेकाले उपयुक्त बिमा पोलिसि ल्याउन राष्ट्रिय बिमा कम्पनी लिमिटेडलाई आग्रह गरे।

कार्कीले भने,‘प्रदेश सरकारले गरिबीको रेखामुनिका जनता, प्राकृतिक विपद्मा परेका, वन्यजन्तु प्रभावित जनताको जीउधनको सुरक्षाका लागि बिमा गर्न तत्पर रहेकाले उपयुक्त बिमा पोलिसि ल्याउनुस्।’

कार्कीले कोशी प्रदेश सरकारले गरेका बिमाको दाबी भुक्तानीमा समस्या हुन नहुने बताए। उनले बिमाको दाबी भुक्तानी लिन सेवाग्राहीले समस्या झेल्नुपरेको गुनासोहरू आइरहेका कारण राष्ट्रिय बिमा कम्पनीमा प्रदेश सरकारले गरेको बिमाहरूको भुक्तानीमा समस्या हुन नहुने बताए।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गम्बु शेर्पाले प्रदेश सरकार  पत्रकारहरूको क्षमता अभिवृद्धि र सुरक्षाका लागि सहकार्य गर्न तत्पर रहेको बताए।

पत्रकारले विभिन्न जोखिमको क्षेत्रमा पुगेर समाचार संकलन गर्नुपर्ने भएकाले दुर्घटना बिमा आवश्यक परेकाले प्रदेश सरकारले पत्रकारको दुर्घटना बिमा गरेको जानकारी दिए। उनले पत्रकारहरूले आवश्यक ठानेको समयसम्म बिमाको कार्यक्रमलाई मन्त्रालयले निरन्तरता दिने स्पष्ट पारे।

राष्ट्रिय बिमा कम्पनीमार्फत कोशी प्रदेश सकारले कोशी प्रदेशका  १ हजार २ सय २७ पत्रकारको दुर्घटना बिमा गरेको छ। दुर्घटना बिमा १० लाख रुपैयाँको हुने जनाइएको छ।

दुर्घटना बिमाले दुर्घटनाका कारण, मृत्यु भए, घाइते भए, अंगभंग भए, अशक्त भए, अस्थायी रुपमा अशक्त भएको लगायतका विभिन्न अवस्थामा पत्रकारहरूलाई उपचार खर्च, क्षतिपूर्तिलगायतका सुविधाहरू उपलब्ध गराउने राष्ट्रिय बिमा कम्पनीले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०८३ १७:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App