१८ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको निर्णयः समानुपातिकबाट पहिल्यै सांसद खाइसकेकाले यसपटक नपाउने

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले पहिलेका सबै निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भइसकेकाहरूलाई यसपटक बन्दसूचीमा नराख्ने निर्णय गरेको छ। आइतबार बसेको बैठकले समानुपातिक प्रणाली सुरु भएयताका सबै निर्वाचनमा सो पद्धतिबाट सांसद खाएकाहरूलाई यसपटक उम्मेदवार नै नबनाउने निर्णय गरेको हो।

‘हालसम्मको बसाइमा त्यस्तो निर्णय भएको छ। अन्तिम रूप दिइसकेको अवस्था छैन,’ एक कार्यसम्पादन समितिका सदस्यले भने,‘फाइनल भएर आउँदा त्यो निर्णय पनि आउँछ।’  

नेपालमा २०६४ सालको संविधानसभा निर्वाचनयता मिश्रित निर्वाचन प्रणाली लागु गरिएको थियो। जसमा समानुपातिक प्रणाली पनि सुरु भएको थियो। सो निर्वाचनपछि २०७० को संविधानसभा, २०७४ र २०७९ को संसदीय निर्वाचनमा पनि समानुपातिक प्रणालीबाट सांसदले प्रतिनिधित्व गरेका थिए।  

समानुपातिक प्रणालीले क्लस्टरका नाममा तरमारा वर्गको हालीमुहाली भएको, पटक–पटक उनै व्यक्तिले अवसर पाएको आरोप लाग्दै आएको छ। सोही कारण पनि कांग्रेसले यस्तो निर्णय लिएको ती सदस्यले बताए।  

उसो त कांग्रेसले यसअघि लगातार निर्वाचनमा एकै व्यक्तिलाई समानुपातिकको सुविधा नदिने अभ्यास गरेको थियो। यसपटक पहिले कुनै पनि निर्वाचनमा समानुपातिकबाट अवसर पाइसकेकालाई बञ्चित गर्ने निर्णय गरेको हो।  

प्रकाशित: १३ पुस २०८२ १६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App