मुलुकको सबैभन्दा पुरानो पार्टीमध्यको एक नेपाली कांग्रेस विशेष महाधिवेशनलाई लिएर विभाजनको संघारमा पुगेका बेला त्यसलाई रोक्न दुवै पक्षका नेताहरूमाथि दबाब बढ्दै गएको छ। पार्टी केन्द्रीय समितिको मंसिर १५ गतेको निर्णयसँगै विशेष महाधिवेशनको औचित्य सकिएको कार्यसम्पादन समितिले निर्णय गरेको छ तर विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौंमा भेला बोलाएपछि कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको हो।
पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कार्यसम्पादन समितिको निर्णयविपरीत विशेष महाधिवेशन पक्षधरलाई समर्थन गरेका छन्। त्यसमा सहभागी हुने जनाएपछि कांग्रेस पार्टीभित्रको विवाद उत्कर्षमा पुग्दै विभाजनकै संघारमा पुगेको छ। त्यसलाई रोक्न र पार्टीको बृहत् एकतालाई कायम राख्न आग्रह गर्दै नेता डा. शेखर कोइरालाले बिहीबार बिहानै सभापति शेरबहादुर देउवालाई भेटेका छन्।
पार्टी पदाधिकारीहरूसँग समेत छलफल गरेका कोइरालाले कांग्रेस फुटको पीडा बोकिनसक्नुको हुने भन्दै त्यसबाट जोगाउन आग्रह गरेका छन्। त्यसबाट पार्टीलाई जोगाउन पहल लिनुपर्ने जनाउँदै कोइरालाले भनेका थिए, ‘पार्टी विभाजनबाट कति मानिस जान्छन् भन्ने हिसाब गर्नु दुःखद हुने भन्दै विभाजनले सन्देश नै गलत दिनेछ।’
कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमेत उपस्थित रहेको सो भेटमा देउवाले पार्टीको बैठक नै राखेर नेता तथा कार्यकर्तालाई पार्टीभित्रको बृहत एकता कायम राख्न आह्वान गर्न आग्रह गरेका छन्। सोही अनुसार बिहीबार नै कार्यसम्पादन समितिको बैठक राखिएको थियो। तर बैठकले विशेष महाधिवेशनको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गर्ने निर्णय गरेको छ।
बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘कार्यसम्पादन समितिको निर्णयमा महामन्त्री गगनकुमार थापा र फर्मुल्लाह मन्सुरले असहमति जनाएका छन्। महामन्त्री थापाले विशेष महाधिवेशन पक्षधर पार्टीका नेता तथा कार्यकर्तालाई सुन्न नेतृत्वलाई आग्रह गरेका छन्।
त्यति मात्र नभएर पार्टी सभापतिसहितका नेताहरू विशेष महाधिवेशनमा सहभागि हुनुपर्ने तर्क गरेका छन्। ‘विशेष अधिवेशन पार्टीकै साथीहरूले आयोजना गरेको हो। त्यो विधानसम्मत आयोजना हो,’ बैठकपछि थापाले सञ्चारकर्मीसँग भने, ‘त्यो अधिवेशनमा सभापति पनि सहभागी हुनुपर्छ। त्यो अधिवेशनमा सहभागी भए उहाँको पनि मान बढाउँछ।’
अहिलेको अवस्थामा पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजान सकिन्छ भन्ने उपाय खोज्ने विषयमा नेताहरूको आआफ्नो धारणा राखेको जनाउँदै बैठकमा सहभागी एक नेताले भने, ‘सकेसम्म पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रयासमा छौं। त्यसका लागि अझै प्रयास हुन्छ।’
यद्यपि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार नै पार्टी विभाजन हुन नदिने र त्यस्तो अवस्था आए आफैं पहिले हलबाट निस्केर जाने बताएका छन् तर बिहीबारको पार्टीको बैठकमा भने अस्वस्थताको कारण देखाउँदै शर्मा सहभागी भएनन्। पार्टीमा रूपान्तरण र पुस्तान्तरणका लागि भन्दै विशेष महाधिवेशन आह्वान गरिए पनि शर्माले कांग्रेस विभाजन हुन नदिने तर्क गरेका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको सम्मान र विधानको वैधानिक व्यवस्थाको कार्यान्वयनका लागि पनि विशेष महाधिवेशन बोलाउनैपर्ने बाध्यता रहेको शर्माले बताउँदै आएका छन्।
भदौ २४ पछि फेरिएको अवस्थामा विशेष महाधिवेशनलाई संकल्पसभामा परिणत गर्न महामन्त्री शर्माले यसअघि नै प्रस्ताव गरेका थिए। त्यसले फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीले लिने नीतिसहितका विषयमा छलफल गर्न सकिने प्रस्ताव उनले अघि सारेका थिए।
सोहीक्रममा उनले पार्टी विभाजन हुन नदिने दाबी गरेका छन्। तर कांग्रेसको विशेष महाधिवेशनको पक्षमा सुरुदेखि नै उभिएका नेता गुरुराज घिमिरेले विशेष महाधिवेशनको एक मात्र र पहिलो काम नीति नभएर नेतृत्व परिवर्तन गर्नु भएको दाबी गरेका छन्।
घिमिरे मात्र होइन, महामन्त्री थापाले पनि वर्तमान सभापति शेरबहादुर देउवाको हस्ताक्षर र नेतृत्व लिएर निर्वाचनमा जान नसकिने बताउँदै आएका छन्। पार्टीको विधि, विधान, प्रक्रिया र संख्यासहितका विषयमा बिस्तारै न्यायनिरूपणको बाटो समाए पनि एउटा पक्ष मात्र हलमा पुग्दा पार्टी विभाजनबाट कसैले पनि रोक्न नसक्ने जानकारहरूको दाबी छ। तथापि महामन्त्री थापाले पनि पार्टी फुट्न नदिने जनाउँदै आएका छन्।
महामन्त्रीद्वयलाई पनि पार्टी विभाजन हुने अवस्थाबाट रोक्न निकटहरूले दबाब दिँदै आएका छन् तर पछिल्ला दिनमा कांग्रेसका नेता तथा कार्यकर्ता विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भएका छन्।
प्रतिस्पर्धी राजनीतिक दलविरुद्ध बरु संयमित देखिने कांग्रेसका नेता तथा कार्यकर्ता आफ्नै पार्टीका सहकर्मीहरूविरुद्ध आक्रामक देखिएका छन्। त्यति मात्र होइन, विशेष महाधिवेशन विवाद लिएर कांग्रेस नेताहरू निर्वाचन आयोग पनि पुगेका छन्।
प्रकाशित: २५ पुस २०८२ ०७:१७ शुक्रबार





