नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिए। मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन ललितपुरमा जारी बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल चलिरहेको छ।
मंगलबार कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा सुरु भएको बैठकमा महामन्त्री प्रदीप पौडेलले ११ प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकमा समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल हुँदैछ।
यस्तै, प्रतिनिधिसभा सदस्यहरूलाई अभिमुखीकरण, क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिता, भ्रातृ संघ, शुभेच्छुक संस्था र जनसम्पर्क समिति सम्बन्धमा, केन्द्रीय लेखा समिति गठन र विविध विषयमा छलफल भएको मुख्यसचिव दुलालले जानकारी गराए।
मंगलबारको बैठकमा केन्द्रीय सदस्यहरू डा गोपाल दहित, तारामान गुरुङ, मैकुलाल वाल्मिकी, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सुधीर शिवाकोटी, शम्भुलाल श्रेष्ठ, नरेन्द्रकुमार केरुङ, रेशमबहादुर वानियाँ, जीतनारायण श्रेष्ठ, रमेश धमला, दीपनकुमार श्रेष्ठ, वसन्त भट्टराई, जनकराज गिरी, शम्भुबहादुर बुढाथोकी, तीर्थजंग शाही, टेकराज पौडेलले धारणा राखेका थिए।
त्यस्तै, केशवराज शर्मा आचार्य, रामबहादुर कार्की, नारायणप्रसाद भट्टराई, शिवबहादुर सुनार, सूर्यबहादुर विक, दिनेश सुनार, छन्दबहादुर पहराई, जगदीशचन्द्र उपाध्याय, रामपल्टन साह, मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफ्नो धारणा राखेका थिए। आजको बैठकमा बाँकी सदस्यहरूले आफ्नो धारणा राख्नेछन्।
प्रकाशित: ११ चैत्र २०८२ ०७:३४ बुधबार





