२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति सर्‍यो, अब मंसिर ४ गते बस्ने

नेपाली कांग्रेसभित्र महाधिवेशन मिति विवादमा नेताहरू अझै सहमतिमा नजुट्दा सोमबारका लागि सारिएको केन्द्रीय समिति बैठक बिहीबारका लागि फेरि धकेलिएको छ।

असोज २८ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार नेताहरूले बोलनेक्रम सकिएको हो। तर, १५औं महाधिवेशनको मितिमा सहमति जुट्न नसक्दा कांग्रेसले निरन्तर बैठक सार्दै आएको छ।

पार्टीका सबै पक्षका नेताहरूबिचमा साझा सहमतिमा पार्टीको १५औं महाधिवेशनको कार्य तालिका ल्याउने प्रयासमा नेताहरू विभिन्न तहको छलफलमा जुटेका छन्। तर, नेताहरू आआफ्नो अडानमा कायमै रहेकाले महाधिवेशनको मितिमा अझै सहमति जुटी नसकेको निकट स्रोतको दाबी छ।

स्वास्थ्य उपचारपछि शुक्रबार काठमाडौं आइपुगेका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको विवाद टुंगो लगाउन नेताहरूसँग छलफललाई तीव्र बनाएका छन्।

विशेष महाधिवेशनको पक्षमा रहेका महामन्त्रीहरूका साथै साथै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि नै महाधिवेशनको पक्षमा देखिएका नेता शेखर कोइरालासहितका नेताहरूसँग सभापति देउवाका साथै कार्यवाहक सभापति पूर्वबहादुर खड्काले पनि छलफल जारी राखेका छन्।

त्यसका साथै पार्टीका पूर्व पदाधिकारीहरूसँग पनि नेताहरूले छलफललाई तीव्र बनाएका छन्। तर, आइतबार साँझसम्म नेताहरू कुनै सहमतिमा पुग्न नसकेको निकटहरूको दाबी छ। संस्थापन पक्षका नेताहरू फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा पार्टीले सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने जनाउँदै महाधिवेशन त्यसपछि गर्नुपर्ने अडानमा नेताहरू छन्।

महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू विशेष महाधिवेशनलाई टार्न नसकिने अडानमा रहेको र संस्थापन पक्षका अधिकांश नेताहरू फागुन २१ गतेपछि मात्र महाधिवेशनको पक्षमा उभिएका छन्।

त्यसबेलामा नियमित महाधिवेशनको पक्षमा उभिएका नेता कोइरालाले पुसको अन्तिमसातासम्म महाधिवेशनको पक्षमा छन्। त्यसले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाएका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको भावनालाई पनि समेटिने दाबी गर्दै आएका छन्।

सोही अनुसार महाधिवेशनको कार्य तालिका ल्याउनु पर्ने जनाउँदै कोइरालासहितका नेताहरूले दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयासमा रहेको निकट स्रोतको दाबी छ। तर, दुवै पक्ष आआफ्नो अडानमा कायमै रहँदा विवाद थप पेचिलो बन्दै गएको जनाउँदै ती नेताले भने, ‘दुर्घटनाबाट पार्टीलाई जोगाउने प्रयास भइरहेको छ। हेरौं।’

पार्टी विवाद पेचिलो बन्दै जाँदा नेता कोइराला पक्ष भने सहमतिका लागि केही लचिलो हुने संकेत गरेको छ। विशेष महाधिवेशनको पक्षधर र निर्वाचनपछि महाधिवेशनको अडानमा दुवै पक्ष रहँदा पार्टी सङ्कटमा परेको भन्दै पुसमा महाधिवेशन सुरु गरेर निर्वाचनपछि बाँकी तहका अधिवेशन गर्ने सहमतिको अर्को प्रयासमा रहेको नेताहरूको दाबी छ।

निर्वाचनअघि नै नयाँ नेतृत्वको पक्षमा रहेको कोइराला पक्काहरू गर्दा गर्दै पार्टीका सबै तहको अधिवेशन सकिएन भने विकल्पका रुपमा पुस महाधिवेशन सुरु गर्ने र सकिएन भने बिचमा रोकेर चुनावपछि बाँकी महाधिवेशन गर्न पनि सकिन्छ।

‘पुस मसान्ताबाट महाधिवेशन सुरु गर्ने र फागुन २१गते नै निर्वाचन हुने भयो भने केही समय यसलाई स्थगित गरेर चुनावमा लागौँ,’ निकट स्रोतले भन्यो,‘चुनावपछि बाँकी महाधिवेशनका प्रक्रियालाई सक्नेगरी जानसकिन्छ।’

त्यसले विशेष महाधिवेशन, नियमित महाधिवेशन वा चुनावपछि महाधिवेशन भन्ने पार्टीका सबै विचारलाई सम्बोधन गर्ने जनाउँदै निकट स्रोतले भन्यो,‘विशेष महाधिवेशन पनि नगर्ने र मत विभाजन पनि हुन नदिने तर, पुस अन्तिमसम्म महाधिवेशन सुरु गरौँ। र, त्यो नै सहमतिको आधार हुन्छ।’

भदौ २४ गते भौतिक आक्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा असोज २८गते पार्टी केन्द्रीय समितिको बैठकमा सार्वजनिक भएका थिए। स्वास्थ्यलाई कारण देखाउँदै उपसभापति खड्कालाई उनले कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरेका थिए। कात्तिक १० गते उपचारका लागि सिंगापुर गएका देउवा शुक्रबार काठमाडौं उत्रिएका हुन्।

पार्टी विवाद पेचिलो बन्दै गएपछि छलफल थालेका सभापति देउवा पार्टीभित्रको बृहत् एकताको पक्षमा रहेको जानकारी दिँदै निकट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने,‘सोही सेरोफेरोमा रहेर सभापतिले छलफलअघि बढाउनु भएको छ। पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजान सकिन्छ भन्ने मात्र उहाँको चिन्ता देखिन्छ।’

भदौ २४ गतेपछि फेरिएको राजनीतिक अवस्थाबारे निर्णय लिन कांग्रेस केन्द्रीय समितिको बैठक गत असोज २८ गतेदेखि सुरु भएको थियो। बिहीबार बोल्ने क्रम सकिएको पनि महाधिवेशनको मिति विवाद पेचिलो बनेपछि कांग्रेस बैठक सर्दै आएको छ।

सोमबार २ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक पनि स्थगित हुने अवस्थामा रहेको निकट नेताहरूको दाबी छ।

प्रकाशित: ३० कार्तिक २०८२ २१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App