२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

दलहरूसँग संवाद गर्न केसीको संयोजकत्वमा वार्ता टोली गठन, महाधिवेशनको जिम्मेवारी गगनलाई

फाइल।

नेपाली कांग्रेसले संसद्भित्र र बाहिर रहेका राजनीतिक दलहरूसँग संवाद गर्न नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाउन र राजनीतिक सहकार्यका लागि केसीको नेतृत्वमा टोली बनाएको हो।

बैठकले निर्वाचनलाई लक्षित गरी सूचना संकलन, तालिम र पूर्वतयारीका लागि एक स्थायी संरचनाका रूपमा ‘निर्वाचन ब्युरो’ समेत गठन गरेको छ।

उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित यस ब्युरोले निर्वाचनका बेला बन्ने अस्थायी समितिहरूभन्दा फरक रहेर पाँचै वर्ष निर्वाचनसम्बन्धी रणनीतिक काम गर्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

पार्टीको सांगठनिक सुदृढीकरण र परिचालनका लागि महामन्त्री गुरुराज घिमिरेको नेतृत्वमा संगठन सञ्चालन तथा समन्वय समिति गठन गरिएको छ।

यस समितिमा सहमहामन्त्रीहरू बहादुर सिंह लामा र मुक्त यादव सदस्य रहेका छन्। यो समितिले केन्द्रीय कार्यालयसँग समन्वय गरी पार्टीको ‘चेन अफ कमान्ड’ लाई व्यवस्थित बनाउने जिम्मेवारी पाएको छ।

त्यस्तै, १५औँ महाधिवेशनको तयारी र सदस्यता व्यवस्थापनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा समिति गठन गरिएको छ। सह-महामन्त्रीद्वय योगेन्द्र चौधरी र प्रकाश स्नेही सदस्य रहेको यो समितिले क्रियाशील सदस्यताको वितरण र व्यवस्थापनसम्बन्धी कार्य गर्नेछ।

महाधिवेशनलाई समयमै सम्पन्न गर्न आवश्यक वातावरण निर्माण र समन्वयका लागि पार्टी सभापति गगन कुमार थापालाई जिम्मेवारी तोकिएको छ।

प्रवक्ता चालिसेका अनुसार बैठकले पार्टीका सार्वजनिक कार्यक्रमहरूलाई भद्दा हुन नदिन र समयको पालनासहित आधुनिक शैलीमा सञ्चालन गर्न ‘सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि’ समेत पारित गरेको छ।

यसैबीच, निवर्तमान उपसभापति पूर्णबहादुर खड्कालाई अनुशासन समितिले सोधेको स्पष्टीकरणका विषयमा प्रवक्ता चालिसेले अनुशासन समितिले तथ्य र विधानका आधारमा आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने बताए।

‘अनुशासन समितिले नक्कली लेटरप्याड र अनधिकृत पदको प्रयोग भएको विषयमा जानकारी गराएको छ, यो सुन्दा पनि अचम्म लाग्ने विषय हो,’ चालिसेले भने, ‘पार्टीको विधानभन्दा माथि कोही पनि हुँदैन, सानादेखि ठूला सबै नेताहरू अनुशासनको सीमाभित्र रहनुपर्छ र यसको मर्यादाले नै पार्टीलाई जीवन्त राख्छ।’

प्रकाशित: २ वैशाख २०८३ १८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App