नेपाली कांग्रेसले पनि निर्वाचन आयोगले तयार गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ मस्यौदाप्रति विमति जनाएको छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार एक्समार्फत उक्त कार्यविधि मस्यौदाप्रति विमति जनाएका हुन्।
महामन्त्री शर्माले ‘व्यक्तिगत धारणा पनि, संस्थागत दृष्टिकोण पनि’ भनेर अभिव्यक्ति दिँदै लेखेका छन्, ‘राजनैतिक दललाई मुल्यांकन जनताले, निर्देशित संविधानले गर्ने हो ! निर्वाचन आयोगले तयार गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ को मस्यौदाप्रति प्रस्ट विमति छ।’
उनले मस्यौदाले सिर्जना गर्न खोजेको बाटो आयोगको कार्यालयमै टुंगियोस् भनेर पनि भनेका छन्। ‘नमिल्ने विधिको बाटो बहादुर भवनमै टुंगियोस् ! जय नेपाल,’ महामन्त्री शर्माले लेखेका छन्।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार आह्वान गरेको कांग्रेस–एमालेबाहेकका साना दलको बैठकले उक्त कार्यविधिको विरोध जनाएको थियो।
प्रकाशित: २२ श्रावण २०८२ १५:३५ बिहीबार





