२४ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

शीर्ष नेतासँग सञ्चारमन्त्रीको भेटवार्ता, निष्पक्ष निर्वाचनमा जोड

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरेका छन्। मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अलग–अलग भेट गरी समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनबारे छलफल गरेका हुन्।

भेटवार्ताका क्रममा मन्त्री खरेलले लोकतान्त्रिक प्रक्रिया सुदृढ बनाउने, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्ने विषयमा सरकारको तयारीबारे जानकारी गराएका छन्। साथै, निर्वाचन अवधिमा सञ्चार माध्यमको भूमिका, सूचना प्रवाहको व्यवस्थापन र गलत सूचना नियन्त्रणका विषयमा समेत नेताहरूसँग विचारविमर्श भएको बताइएको छ।

शीर्ष नेताहरूले भेटमा राजनीतिक स्थायित्व, सहमति र सहकार्यको आवश्यकतामा जोड दिएका छन्। उनीहरूले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र जनविश्वास कायम हुने ढंगले सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेका थिए। भेटमा दलहरूबीच संवाद निरन्तर राख्ने विषयमा पनि सहमति भएको जनाइएको छ।

सञ्चारमन्त्री खरेलले भेटवार्ता सकारात्मक र फलदायी भएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार निर्वाचनलाई लक्षित गरी सरकार र राजनीतिक दलहरूबीच समन्वय बढाउने उद्देश्यले यस्ता भेटघाटलाई निरन्तरता दिइनेछ। आगामी दिनमा अन्य राजनीतिक दलका नेताहरूसँग पनि छलफल गर्ने तयारी रहेको मन्त्री खरेलको सचिवालयले जनाएको छ।

प्रकाशित: ११ पुस २०८२ १४:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App