फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रचारप्रसारका क्रममा कुनै प्रकारको बाधाअवरोध नगर्न निर्वाचन आयोगले सबै सरोकारवालालाई आग्रह गरेको छ।
आयोगले पछिल्लो समय निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारको चुनावी प्रचारप्रसार गतिविधिलाई विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ।
पछिल्लो समय केही राजनीतिक दल वा उम्मेदवारका कार्यक्रम अन्य दल, कार्यकर्ता वा व्यक्तिबाट अवरोध गरिएको बारे गुनासो प्राप्त भएको कारण यसो नगर्न आयोगले अनुरोध गरेको हो।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ (१( (ङ) अनुसार कुनै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा अवरोध पुर्याउन नहुने स्पष्ट व्यवस्था छ। साथै, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० (१) (क) अनुसार कसैलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने, थुनछेक गर्ने वा गराउने कार्य दण्डनीय मानिन्छ।
उक्त कसुर गरेमा दुई लाख रुपैयाँसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको आयोगले स्मरण गराएको छ।
आयोगले आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने जिम्मेवारी सबै राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सरोकारवालाको भएको उल्लेख गर्दै प्रचलित संघीय कानुन विपरीतका गतिविधि नगर्न अनुरोध गरेको छ। आचारसंहिता उल्लंघन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनी पनि आयोगले दिएको छ।
प्रकाशित: १३ फाल्गुन २०८२ ११:२२ बुधबार





