नेकपा (माओवादी केन्द्र)का नेता राजन दाहालले एक वर्षमा ओली सरकार निर्णय प्रक्रियामा दर्जनौं पटक असफल भएको बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले एक वर्षमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उठ्नै नसक्ने गरी छिप्पिएको ढुङ्गामा पछारिएको जिकिर गरे।
वर्तमान सरकार नैतिकता भए मुख देखाउन नमिल्ने गरी गन्हाएको भनाइ राख्दै दाहालले निर्णय प्रक्रियामा सफल भएको कुनै एक निर्णय पनि नभएको बताए। उनले जनताको समृद्धिको अपेक्षा र राष्ट्रको आवश्यकताको प्रतिनिधित्व गर्ने एउटा पनि काम नभएको दाबी समेत गरे।
उनले लेखेका छन्, 'गएको एक वर्षमा ओली सरकार निर्णय प्रक्रियामा दर्जनौ पटक असफल भएको छ, उठ्नै नसक्ने गरी छिप्पिएको ढुङ्गामा पछारिएको छ। नैतिकता भए मुख देखाउन नमिल्ने गरी गन्हाएको छ। तर निर्णय प्रक्रियामा सफल भएको कुनै एक निर्णय पनि छैन। जनताको समृद्धिको अपेक्षा र राष्ट्रको आवश्यकताको प्रतिनिधित्व गर्ने एउटा पनि काम भएको छैन। एक महिनाभित्र रसुवागढी नाकामा बेलीब्रिज बनाइदिने चिनियाँ सरकारको प्रस्तावलाई सहमति जनाउन पनि ढिलाइ गरिरहेको छ। केही काम भए जानकारी दिए आभारी हुने थिए।'
प्रकाशित: ९ श्रावण २०८२ ०८:५२ शुक्रबार





