निर्वाचन आयोगले १० दिनमा निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा १५ वटा स्पष्टीकरण सोधेको छ । मंगलबार बिहानसम्म १५ जना उम्मेदवार तथा संस्थालाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरेको थियो। त्यसयता मंगलबारसम्म १० दिन पूरा भएको छ। आयोगमा सुरुकै दिनदेखि आचारसंहिता उलंघनका उजुरी पर्न थालेका थिए। त्यो सँगै आयोगले पनि गम्भीर अवस्था भेटिए स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएको छ। आयोगको स्पष्टीकरण भोग्नेमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह(बालेन)देखि नेकपा एमालेका सचिव महेश बस्नेतसम्म परेका छन्।
सोमबारसम्म आठ वटा स्पष्टीकरण सोधेको आयोगले मंगलबार मात्रै थप ७ वटा नयाँ उजुरीमा स्पष्टीकरण सोधेको आयोगको आचारसंहिता अनुगमन शाखाका मोहन जोशीले जानकारी दिए।
हालसम्म स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार बालेन्द्र साह(बालेन), भक्तपुर–२ मा नेकपा एमालेबाट उम्मेदवार रहेका महेश बस्नेत, सुनसरी–१ मा श्रम संस्कृति पार्टीबाट उम्मेदवार रहेका हर्कराज राई (हर्क साम्पाङ), रुपन्देही–२ मा जनसेवा पार्टीबाट उम्मेदवार रहेका कमल भुसाल(निकोलस), भक्तपुर–२ मा जनसेवा पार्टीबाट उम्मेदवार जानुका पाठक(शोभा) रहेका छन्। यस्तै रास्वपाका खगेन्द्र सुनारलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। उनले दिएको ‘नेपालमा गाई खान पाउनुपर्ने’ अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल छ।
आयोगका अनुसार रास्वपा वरिष्ठ नेता बालेनले सामाजिक सञ्जालमार्फत झापा–५ मै उम्मेदवार रहेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अमर्यादित शब्द प्रयोग गरेर दिएको अभिव्यक्तिका कारण स्पष्टीकरण सोधिएको हो।
एमाले सचिव बस्नेतलाई बालेनले बोलेको मैथिली भाषाको शब्द ‘छौरा’बारे अनर्गल व्याख्या गरेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। उता हर्क साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको र टी–सर्ट लगाउन लगाएको विषयमा उजुरी परेको आयोगले बताएका छ।
उता निकोलस भुसालले जेन–जी आन्दोलनमा रगतले लतपतिएको जुत्तालाई चुनाव चिह्नसरह प्रयोग गरी प्रचार गरेको आरोपमा उजुरी परेको थियो। सोही कारण उनले आयोगबाट स्पष्टीकरण भोगेका छन्।
उता शोभा पाठकले एमाले सचिव बस्नेत र एमाले विरुद्ध घृणाजन्य अभिव्यक्ति दिँदै ‘हत्यारा’ र ‘बलात्कारी’जस्ता शब्द प्रयोग गरेकामा आयोगले स्पष्टीकरण सोधेको छ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट जाजरकोटमा उम्मेदवार शक्ति बस्नेतले मनोनयन दर्ताका क्रममा बाजा बजाउने व्यक्तिहरूलाई पैसा बाँडेको भिडिओ ‘भाइरल’ भएपछि उनी पनि आयोगको स्पष्टीकरणमा परेका छन्।
यस्तै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पनि आयोगबाट स्पष्टीकरण भोगेका छन्। झापा–५ मा एमाले उम्मेदवार ओलीको मनोनयन दर्ताका क्रममा सरकारी गाडी प्रयोग गरेको आरोपमा मुख्यमन्त्री कार्कीविरुद्ध उजुरी परेको थियो।
काठमाडौं–४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) उम्मेदवार रहेका सुरेन्द्र भण्डारीले लैंगिक तथा अल्पसंख्यक समुदायमाथि घृणास्पद टिप्पणी गरेको आरोप लागेको छ। सोही उजुरीका आधारमा उनीसँग आयोगले स्पष्टीकरण मागेको छ।
यस्तै दोलखामा रास्वपा उम्मेदवार रहेका जगदीश खरेललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। जसको जवाफ उनले पठाइसकेको आयोगले जनाएको छ।
आयोगले व्यक्ति मात्र नभई केही संस्थालाई समेत आचारसंहिता उलंघनको आरोपमा स्पष्टीकरण सोधेको छ । जसमा वीरगन्जस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पनि एक हो। जहाँ बाल विकास शिक्षिकामाथि उजुरी परेपछि सम्बन्धित विद्यालयसँग पनि आयोगले स्पष्टीकरण सोधेको जनाएको छ।
नेपाल स्वास्थ्य स्वयंसेवक संघले ट्रेड युनियनको अधिवेशन गर्न लागेको भन्ने उजुरीपछि आयोगले दुई दिनभित्र जवाफ मागेको छ।
यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (एनएससी)सँग पनि पछिल्ला गतिविधिसँग सम्बन्धित रहेर आयोगले स्पष्टीकरण मागेको छ।
आयोगले निर्वाचन आचारसंहिता उलंघनका घटनामा अहिलेसम्म स्पष्टीकरण सोधे पनि कसैलाई कारबाही भने नगरेको जनाएको छ। आयोगको आचार संहिता अनुगमन शाखाका जोशीका अनुसार अहिले आयोगमा उजुरी परेका उम्मेदवार तथा संस्थालाई दुईदेखि तीन दिनको समय दिएर स्पष्टीकरण सोध्ने प्रक्रिया चलिरहेको छ।
‘स्पष्टीकरण आएपछि मात्रै त्यसको अध्ययन गरेर आयोगले आवश्यक निर्णय गर्छ,’ उनले भने, ‘अहिले उजुरी परेका विषयमा मात्रै स्पष्टीकरण सोधिएको हो। प्रक्रिया क्रमशः अघि बढ्छ।’
प्रकाशित: १३ माघ २०८२ १४:३७ मंगलबार





