८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
स्वास्थ्य

पाठेघरको अपरेशन गर्दा पिसाव थैली काटिएपछि...

गुल्मीकी ४१ वर्षीय लक्ष्मी बिकलाई गत वर्षअघिको दिनहरु सम्झिदा झसङ्ग हुन्छिन्। पाठेघर जाँच गर्न जाने क्रममा भैरहवाको मेडिकल कलेजमा परीक्षण गर्न पुगिन्। चिकित्सकले उनलाई पाठेघर निकाल्न सुझाए। सोही अनुसार उनको शल्यक्रिया गरी पाठेघर निकाले।

गत वर्ष पुस २८ गते पिसाव चुहियो। जति बेला उनी फेरी मेडिकल कलेजमा  पुगिन । पाठेघर निकाल्दा  पिसावको थैलीमा प्वाल परेको रहेछ। त्यसपछि  स्त्रीरोग विभागले युरोलोजी विभागलाई रेफर गर्‍यो।

अपरेशनपछि पनि पिसाव रोकिएन।उल्टै जटिलता भएर आइसियु बस्नु पर्‍यो। यो उपचारको नाममा उनी पाँच महिना सोही अस्पताल बसिन्। यो अवधिमा उनले धेरै पीडा खेप्नु पर्‍यो। ‘पिसावमा,पेटमा सवैतिर पाइप थियो,  दुखाइ उस्तै’ विकले बितेका दिन सम्झिँदै भनिन्। लामो उपचारले पनि निको नभएपछि अस्पतालले काठमाडौ मोडेल अस्पताल रेफर गर्‍यो। गत वर्ष जेठमा मोडेलमा पुगिन् र डा. गणेश दंगालले  शल्यक्रिया गरेपछि उनी निको भइन्।

शुक्रवार उनी अस्पतालको निम्तोमा विश्व फिस्टुला दिवसको अवसरमा आएकी हुन्। निको भएपछि उनलाई नयाँ जिन्दगी पाएको जस्तो अनुभूति भएको छ। आफैलाई उपचार गरेको डाक्टर भेटेपछि खुसी व्यक्त गर्दै उनले भनिन्, ‘यसपालि हतार भयो, अर्को पटक आउँदा डाक्टरलाई केही दिन मन छ’। आफै स्वास्थ्य स्वयंसेविका रहेकी विकले भोग्नु परेकोमा उनी अरूको हाल के होला भनेर अनुमान गरिरहेकी छिन्।

नेपालगन्जकी ४९ वर्षीय आदित्य चौधरीको भोगाइ पनि उस्तै छ।  सेन्ट जेभियर कलेजमा अध्यापन गर्दै आएकी चौधरीले तीन वर्ष अघि ह्याम्स अस्पताल धुम्बराहीमा पाठेघरको अपरेशन गर्ने क्रममा पिसाव चुहिन समस्या भएको थियो। । अपरेशन गर्दा पिसावको थैली नै काटिएको पत्ता लाग्यो। तुरुन्तै अर्को शल्यक्रिया गर्न मिल्दैनथ्यो। एक महिनापछि ह्याम्समै थैली टाल्ने शल्यक्रिया भयो। तैपनि निको भएन। त्यसपछि उनी नियमित रूपमा डाइपर लगाएरै कलेज पढाउन गइन्।

काम नगरी खाने उपाय थिएन। अप्ठेरो लाग्दै कलेज गइरहिन्। साथै अस्पताल पनि। फलोअपमा जाँदा चिकित्सकले पेल्भिक कमजोर भएको र व्यायाम गर्न सुझाएर पठाए। तैपनि समस्या घटेन। उनी दुई वर्षसम्म डाप्र लगाएरै कलेज गइन्। जिन्दगीदेखि थाकिसेकी थिइन्। गत वैशाखमा साथीभाइ मार्फत काठमाडौं  मोडेल अस्पताल पुगिन्। फिस्टुला सर्जरी गर्ने डा. दंगालको टोलीले शल्यक्रिया गरेर थैली टाले। आफूले भोगेको घटनाले उनीसँग प्रश्नहरू उब्जेका छन्। ‘सुगममा बस्दा त यस्तो भयो, दुर्गममा बस्ने महिलाहरूले यस्तो समस्या भयो भने उपचार गर्न कहाँ जान्छन् होला ? ’

काठमाडौं धापासीकी ४५ वर्षीय खेम कुमारी घिमिरेको भोगाइ झनै दर्दनाक छ। पाठेघर जाँच्नको लागि  ग्रिन सिटी अस्पताल पुगेकी उनलाई पनि पाठेघरमा सिस्ट पलाएको भन्दै अपरेशन गर्न सुझाए। ०७९  चैतमा अपरेशन भयो। अपरेशनपछि पिसाव चुहिरहेपछि पुन सोही अस्पताल पुगिन्। अस्पतालले तुरुन्तै अपरेशन गर्न नमिल्ने भनेपछि टिचिङ अस्पताल महाराजगन्ज पुगिन्। टिचिङले पनि नमिल्ने भनेपछि पाटन पुगिन्। पाटनले मोडेल अस्पताल काठमाडौँ रेफर गर्‍यो। डा. दंगालकै टोलीले अपरेशन गरे। एक महिनापछि उनी पुरै निको भइन्। अहिले उनको जीवन सहज बनेको छ।

मूलपानीकी लिला फुयाँलको पनि यस्तै हविगत भएको हो। दुइृ वर्ष अघि प्रसुतिगृह अस्पतालमा पाठेघर निकाल्ने अपरेशन गर्दा पिसावथैली काटिएपछि उनले धेरै सास्ती खेपकी हुन। शल्यक्रियापछि उनको पिसाव नलीमा २१ दिनसम्म पाइप राखे। पाइप निकाल्ने बित्तिकै  पिसाव ठूलो मात्रामा चुहियो। डाक्टरले सिलाएको र बिस्तारै निको हुने भन्दै रोके। पछि केही नलागेपछि मोडेल रेफर गरे। समस्या भएको तीन महिनापछि मात्र उनको पिसाव चुहिने अपरेशन भएको थियो। उनले पनि निकै सास्ती खेप्नु परेको अनुभव सुनाइन्। ‘ अस्पतालको बास भयो, निदाउनै सक्दिन थिए’,उनले भनिन्।

काठमाडौं मुलपानीकी गोमा कार्कीले तीन वर्ष अघि छाउनी अस्पतालमा पाठेघर निकाल्ने अपरेशन गर्दा नै पिसावको नली काटिएपछि पिसाव चुहिने समस्या भएको थियो। अर्को अपरेशन तीन महिनासम्म गर्न नमिलेपछि  चार महिनासम्म अस्पतालमै भर्ना भएर बसिन्। चार महिनापछि अस्पतालले मोडेल पठायो। उपचार पछि उनको पिसाव चुहिने समस्या निको भयो। अहिले उनी खुसी छिन्।

बिकसहित पीडितहरु विश्व फिस्टुला दिवसको अवसरमा अस्पताल पुगेका हुन्। अस्पतालले निको भएकाहरूलाई निम्तो दिएको थियो। भोगाइहरू समान भएपछि आपसमा अनुभूति साटासाट गरे।  ‘सवैका कुरा सुन्दा अव अरूलाई कसरी उपचारसम्म ल्याउने ? सोचेकी छु’ शिक्षिका आदित्य चौधरीले भनिन्।

अस्पतालका स्त्रीरोग तथा फिस्टुला सर्जन डा. गणेश दंगालको अनुसार पछिल्लो समय पाठेघर र सर्जिकल प्रसुतिको कारण महिलाहरूमा फिस्टुला हुने(दिसा या पिसाव चुहिने समस्या) बढिरहेको छ। अस्पतालमा फिस्टुलाको उपचार गर्न आउने मध्येमा ६० प्रतिशत सर्जिकल फिस्टुलाको समस्या छन्। नेपालमा १३ वर्ष अघि प्रसूति जटिलताको कारण मात्र महिलाहरूमा फिस्टुला समस्या बढी हुन्थ्यो। पछिल्लो समय भने सर्जिकल फिस्टुला नै बढ्दै गएको उनले बताए।

नेपालभरमा तीन वटा केन्द्रबाट फिस्टुला उपचार सेवा हुन्छ। ती सबै केन्द्रको एउटै अनुभव । ‘सर्जिकल फिस्टुला बढ्दै गएको  विषयमा हामीले आपसमा छलफल भएको छ’ डा. दंगालले भने। नेपालभर वर्षमा औसत दुई देखि तीन सय वटा फिस्टुला सर्जरी हुन्छ। ती मध्येमा मोडेल अस्पतालमा मात्र ९० देखि एक सय वटा हुन्छ।  ती मध्येमा ६० प्रतिशत सर्जिकल फिस्टुलाको समस्या पाइएको छ। यसरी आउनेमा उपत्यका सहित चितवन, बुटवल लगायतका ठाउँहरुवाट छन । अन्य भेगका बिरामी भने सुर्खेत र धरानमा लिने गर्छन्।

चिकित्सकको अनुसार शल्यक्रिया गर्ने चिकित्सकमा प्रयोगात्मक अभ्यास कम भएको यस्तो हुने गरेको डा. दंगाल बताउँछन्। पछिल्लो समय यस्तो समस्या नेपाल जस्तै कम विकसित देशहरु बङ्गलादेश, पाकिस्तान लगायतमा पनि बढ्दै गएपछि चिकित्सकको लागि तालिम बढिरहेको स्थिति छ।

कुल सर्जिकल फिस्टुला मध्येमा ०.२ प्रतिशत अपरेशन जटिलताको कारणले हुन्छ भने बढी मात्रामा अदक्ष चिकित्सकको कारणले हुन्छ। ‘एउटै क्षेत्रबाट यस्ता बिरामी आउँदा अदक्ष चिकित्सकको कारणले भन्ने थाहा हुन्छ’डा.दंगालले भने। नेपालमा सर्जिकल फिस्टुला बढेको विषयमा मेडिकल काउन्सिलले नयाँ नीति अघि सार्नु पर्ने देखिएको डा. दंगाल बताउँछन्। ‘ चिकित्सक अनुमति पत्र दिनु अघि प्रयोगात्मक परीक्षा पनि लिनु पर्ने सुन्नमा आएको छ,’ उनले भने।

प्रकाशित: ८ जेष्ठ २०८३ १८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App