१९ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

प्रतिनिधि अट्ने ठाउँ नपाएपछि खुलामञ्चमै बन्द सत्र गर्नुपर्‍यो : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्द सत्र गर्न उपयुक्त स्थान नपाउँदा खुलामञ्चमै गर्नुपरेको बताएका छन्। 

सोमबारदेखि सुरु भएको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले काठमाडौंमा करिब सात हजार महाधिवेशन प्रतिनिधि अट्ने पर्याप्त ठाउँ नभएकाले खुलामञ्चमै बन्द सत्र गर्नुपर्ने अवस्था आएको बताए। 

उनले महाधिवेशनको उद्घाटन खुलामञ्चमा गर्ने तयारी पहिल्यै भए पनि बन्द सत्र भने व्यवस्थित र सहज रूपमा सञ्चालन गर्ने पार्टीको चाहना रहेको बताए। 

‘काठमाडौंमा खुलामञ्चमै अधिवेशनको उद्घाटन गर्ने हाम्रो तयारी थियो। तर खुलामञ्चमा गरिसकेपछि बन्द सत्र भने हामी अलिकति व्यवस्थित ढंगले नै गर्न चाहन्थ्यौँ,’ उनले भने, ‘तर यत्रो ठूलो संख्या अट्ने काठमाडौंमा कुनै ठाउँ नै छैन।’ 

ठूलो संख्यामा प्रतिनिधि अट्ने काठमाडौंमा गोदावरीस्थित सम्मेलनस्थल एउटा विकल्प भएको र त्यहाँ   कांग्रेसले महासमिति बैठक आयोजना गर्दै आएको भएपनि  जेनजी आन्दोलनमा आगलागी भएपछि अहिले प्रयोग गर्न नमिल्ने भएको बताए। 

‘जम्मा एउटा गोदावरीमा थियो। हाम्रो महासमितिको बैठक गरेको ठाउँ हो, तर त्यो जलेर खरानी बनाइयो। अब कतै पनि ठाउँ छैन,’ थापाले भने।  उनले बन्द सत्रका लागि हायातको प्राङ्गण रोजेको भएपनि प्राविधिक कारण कार्यक्रम हुन नसकेको बताए। 

‘हामीले हायातको प्राङ्गणमा खुलामञ्चजस्तै ठूलो ठाउँ भेटाएका थियौँ। अलिकति सजिलोसँग गर्न सकिन्छ भनेर सोचेका थियौँ। तर केही प्राविधिक कारणले गर्दा त्यहाँ गर्न सम्भव भएन,’ उनले भने। 

थापाले नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय सभागृहमा प्रतिनिधि अटाउन नसक्ने भएकाले खुलामञ्चमै बन्द सत्र गर्नुपरेको  बताए। 

‘एकेडेमीमा र यो सभागृहमा हाम्रो संख्या अड्दै अड्दैन। त्यसकारण हामीले यहाँ ल्याएर यसरी बसेर हाम्रो काम गर्नुपर्ने अवस्था आयो,’ उनले भने। 

प्रकाशित: १९ आश्विन २०८३ १४:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App