१ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

संसद्‌मा साम्पाङ र रानाबिच नोकझोक : मेरो नामै लिएर के भन्न खोज्नुभएको ?

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८३ माथिको छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगर र श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङबिच नोकझोक भएको छ।

छलफलमा भाग लिँदै सांसद रानाले विधेयकमा प्रयोग भएका 'वेश्यावृत्ति', 'अगम्यागमन' जस्ता शब्दप्रति आपत्ति जनाइन्। उनले भनिन्, 'यो विधेयक राम्रो छ, तर यसमा प्रयोग भएका कतिपय शब्दहरू अहिलेको समयमा सान्दर्भिक छैनन्। मन्त्रीलाई म यो शब्द हटाउन अनुरोध गर्छु।'

यो पनि पढ्नुहोस्

रास्वपा सांसद इन्दिरा रानाको प्रश्न: विधेयकमा वेश्यावृत्ति किन लेखियो ?

सोही क्रममा सांसद रानाले आफूमाथि सामाजिक सञ्जालमा लगाइएका आरोपहरूको विषय पनि उठाइन्। उनले भनिन्, 'मलाई सामाजिक सञ्जालमा चाइल्ड ट्राफिकर भनिएको छ। म चुनौती दिन्छु, मैले कति जनालाई लगेको छु प्रमाणित गरेर देखाउनुस्। झुटो आरोप लगाउन पाइँदैन।' उनले यसै सन्दर्भमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई सम्बोधन गर्दै आफ्ना 'साइबर आर्मी' लाई सम्झाउन आग्रह गरिन्।

रानाको भनाइप्रति आपत्ति जनाउँदै हर्क साम्पाङले नियमापत्ति गरे। उनले भने, 'मेरो नामै उच्चारण गरेर रोस्टमबाट के भन्न खोज्नुभएको हो? तपाईंका सेना के भन्नुभयो? म पनि तपाईंजस्तै सांसद हुँ। मेरो कुनै सेना छैन, म पब्लिकको आवाज उठाउने व्यक्ति हुँ।'

साम्पाङले अगाडि थपे, 'कसले के भन्छ भन्ने कुराको ग्यारेन्टी म लिन सक्दिन। पब्लिकसँग जुध्ने हाम्रो काम होइन, उनीहरूको आवाज बुलन्द गर्ने हाम्रो कर्तव्य हो। कोही कसैले पनि यहाँ मुद्दाका विषयमा कुरा उठाउने हो, एकअर्कालाई दोष लगाउने होइन।'

प्रकाशित: १ भाद्र २०८३ १७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App