१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राजनीतिक अवस्था र निर्वाचनबारे नागरिक समाजले गरायो राष्ट्रपतिको ध्यानाकर्षण

नागरिक समाजले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर वर्तमान राजनीतिक अवस्था र निर्वाचनबारे ध्यानाकर्षण गराएको छ ।  

गैरसरकारी संस्था महासङ्घ नेपालको अगुवाइमा शीतलनिवास पुगेको टोलीले राष्ट्रपतिसँग देशको वर्तमान राजनीतिक परिस्थिति, लोकतन्त्र तथा संवैधानिक मूल्यको रक्षा, नागरिक समाजको भूमिका र आगामी निर्वाचनका तयारीबारे धारणा राख्दै पछिल्लो गतिविधिको ध्यानाकर्षण गराएको छ।

महासङ्घका अध्यक्ष अर्जुन कुमार भट्टराईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भदौ २३–२४ मा भएको जेन-जी आन्दोलनका मृतक र घाइतेप्रति श्रद्धाञ्जली अर्पण गर्दै निष्पक्ष छानबिन गर्नुपर्ने, लोकतन्त्र, संविधान र विधिको शासनको संरक्षणमा राज्यको भूमिका थप व्यवस्थित बनाउनुपर्ने, तोकिएको मितिमै स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई उत्प्रेरित गर्न भूमिका खेल्नुपर्ने सुझाएको छ ।  

त्यस्तै नागरिक समाजमाथि भइरहेका नियोजित भ्रम, आरोप र अविश्वासको अभियान रोक्न, नागरिक समाज राज्यको साझेदारका रुपमा बुझ्न पनि राष्ट्रपतिको ध्यानाकर्षण गराएको महासंघ अध्यक्ष भट्टराईले जानकारी दिए ।  

उनले भने, ‘नागरिक समाजका प्रतिनिधि हामी शीलत निवास पुगेर सुशासन, पारदर्शिता, जवाफदेहिता र ठूला भ्रष्टाचारका घटनामा निष्कर्षमा पुग्न पहलको आवश्यकता बारे सुझाउँदै युवापुस्ताको आवाज नीति निर्माण प्रक्रियामा संस्थागत रूपमा समावेश गर्न माग गरेका छौँ। न्यायालय तथा संवैधानिक निकायप्रतिको सम्मान कायम राख्न पनि भूमिका खेल्नुपर्ने सुझाएका छौँ ।’

वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रिय संवाद संयन्त्र सक्रिय बनाउनुपर्ने आवश्यकता पनि राष्ट्रपतिलाई सुझाएको भट्टराईले बताए ।  

राष्ट्रपतिलाई भेट्न महासंघका सल्लाहका डा. अर्जुन कार्की, शान्तलाल मुल्मी, सलोनी सिंह, निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी, उपाध्यक्ष राजेन्द्र शर्मा, महासचिव देवी खड्का, उपमहासचिव किरण थापा र सचिव जजराज शाहीलगायतको टोली शीलत निवास पुगेको थियो ।  

महासंघका प्रतिनिधिको कुरा सुनेपछि राष्ट्रपति पौडेलले नागरिक समाजको भूमिका विगतदेखि नै महत्वपूर्ण रहँदै आएको बताउँदै  सबै राजनीतिक दल निर्वाचन प्रक्रियामा होमिएको अवस्थामा तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख दायित्व रहेको बताएका थिए ।  

राष्ट्रपति पौडेलले स्वच्छ, निस्पक्ष र भयमुक्त निर्वाचन सुनिश्चित गर्न सरकार, नागरिक समाज र सबै सरोकारवालाको समानरूपमा भूमिका आवश्यक रहेको र कुनै अलमल नगरी निर्वाचन सम्पन्न गरी जनादेशप्राप्त नयाँ सरकारलाई प्रक्रिया हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।  

भेटमा प्रतिनिधि मण्डलले तयार पारेको ध्यानाकर्षणको लिखित पत्र राष्ट्रपति कार्यालयको सचिवालयलाई हस्तान्तरण गरिएको थियो। 

प्रकाशित: ११ मंसिर २०८२ १८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App