१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

राज्य कमजोर हुँदा नागरिक बलियो हुन सक्दैनन् : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा बढ्दो सामाजिक अराजकताले राज्यलाई कमजोर बनाउने बताएका छन्। 

आइतबार मध्यपुरथिमिमा राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को २६औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले साम्राज्यवादलाई प्रश्रय दिने गरी बढ्दो सामाजिक अराजकताले प्रतिगमनलाई साथ दिइरहेको बताएका हुन्। 

देशमा केही भएन, हुँदै भएन भन्ने निराशा फैलाएर समाजलाई भ्रममा पार्दै राजनीतिक रोटी सेक्नेले देशको भलो नगर्ने बताउँदै उनले लोकतन्त्र बलियो भए मात्रै मानवअधिकार बलियो हुने उल्लेख गरे।

महासचिव पोखरेलले भने, ‘लोकतन्त्र मानवअधिकार विरोधी व्यवस्था नभई मानवअधिकारको रक्षा गर्ने व्यवस्था हो। राज्य कमजोर हुँदा नागरिक बलियो हुन सक्दैनन्, नागरिकले संविधानले दिएका आधारभूत अधिकार पाएका छन्। तर अधिकारको मात्र कुरा गर्ने, कर्तव्य निर्वाह नगर्ने जमातले देश कमजोर बन्न सक्छ, यसतर्फ युवा पुस्ता बेलैमा सचेत हुनु आवश्यक छ।’

देशलाई समृद्ध बनाउन नागरिक पनि समृद्धिको यात्रामा लाग्नु पर्ने बताउँदै युवालाई विदेश जानबाट रोकेर देशमै रोजगारीमा लाग्न अभिप्रेरित गर्नुपर्ने उनको भनाइ छ। कार्यक्रममा एमाले नेता एवं मानवअधिकार एलाइन्सका इञ्चार्ज विष्णु रिजालले एमालेलाई बलियो बनाउन पार्टी एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा मानवअधिकार एलाइन्सका अध्यक्ष विदुर सुवेदीले मानवअधिकार उल्लङ्घनका घटना बढ्न नदिन सरकार सचेत भएर लाग्नुपर्ने बताए। रासस

प्रकाशित: ३० असार २०८२ ०६:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App