४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

भौतिक मन्त्रीसँग चिनियाँ राजदूतको भेट : दसैँअघि नै सीमा पुल निर्माण हुने अपेक्षा

नेपालका लागि चीनका राजदूत चेन सङले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन्। बिहीबार मन्त्रालयमा भएको भेटमा बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुबेसी-रसुवागढी सडक तथा सीमा पुल निर्माण लगायतका विषयमा छलफल भएको हो।  

भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ। सीमा पुल भएको स्थान जतिसक्दो छिटो अस्थाई पुल बनाउन चिनियाँ पक्षबाट प्रतिबद्धता आएको छ।

यसै गरी चिनियाँ सहयोगमा सञ्चालित अन्य आयोजनाहरू टोखा–छहरे सुरुङ्मार्ग, हिल्सा–सिमिकोट सडक, खाँदबारी–किमाथांका सडक लगायतका विषयमा पनि छलफल भएको थियो। छलफलमा राजदूत चेनले काठमाडौं–चक्रपथ दोश्रो खण्ड विस्ताको काम छिटै सुरु हुने बताए।

भेटपछि मन्त्री दाहालले नेपालको विकासमा चीनले गर्दै आएको सहयोग प्रति धन्यवाद व्यक्त गरे। आगामी दिनमा नेपाल र चीनबिच रहँदै आएको सहकार्य अझ प्रगाढ बन्ने विश्वास समेत व्यक्त गरे।

छलफलमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले बाढी क्षतिग्रस्त बनाएको सीमा पुल रहेको स्थानमा दसैँअघि नै पुल निर्माण हुने अपेक्षा राखिएको छ। मन्त्री दाहाल, मन्त्रालय एवं सडक विभागका अधिकारीहरूको बिच फलदायी छलफल भएको सचिव शर्माले जानकारी दिए।  

बाढीले नेपाल–चीनको मुख्य नाका रसुवागढीबाट आवात जावतमा कठिनाइ भएपछि मन्त्री दाहालले त्यस खण्डलाई सुचारु गर्ने विषयमा चासो लिँदै आएका छन्। छलफलमा सडक विभागका महानिर्देशक डा. बिजयकुमार जैसी लगायत मन्त्रालय तथा सडक विभागका अधिकारीहरू सहभागी थिए।

प्रकाशित: १ श्रावण २०८२ १६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App