१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

चिनियाँ राजदूत भन्छन्: भाषा र सांस्कृतिक आदानप्रदान सम्बन्धको न्यानो र दीर्घकालीन आधार

“रंगीन सपनाहरू साकार पार्न चिनियाँ भाषा” भन्ने उदघोषका साथ अन्तर्राष्ट्रिय चिनियाँ भाषा दिवस–२०२६ आइतबार काठमाडौंमा सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजना र नेपालस्थित चीन सांस्कृतिक केन्द्र, काठमाडौं विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युट, एलआरआई कन्फ्युसियस कक्षा तथा चाइना साउदर्न एयरलाइन्सको सहआयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपालका लागि चीनका राजदूत चाङ माओ मिंगले लामो समयदेखि नेपालमा चिनियाँ भाषा शिक्षामा समर्पित भई नेपाल–चीन सांस्कृतिक आदान–प्रदानलाई प्रगाढ बनाउने तथा सभ्यताबीच पारस्परिक समझदारीलाई सुदृढ गर्ने सबै महानुभावहरूप्रति उच्च सम्मान व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे । उनले चिनियाँ भाषाले दृढता, आत्मनिर्भरता र पूर्वीय ज्ञानको धरोहर बोकी खुलापन र सहिष्णुताको भावनाका साथ संसारलाई जोड्ने, समकालीन चीनलाई अनुभव गर्न, सभ्यताबीच आदान–प्रदान बढाउन र सपना देख्नेहरूलाई आफ्नो लक्ष्य प्राप्त गर्न मार्गदर्शन गर्ने पुलको रूपमा काम गरिरहेको बताए ।

सम्बोधनका क्रममा उनले चीन र नेपाल भौगोलिक रूपमा जोडिएका र ऐतिहासिक मित्रराष्ट्रहरूबीच भाषा र सांस्कृतिक आदान–प्रदान सम्बन्धको सबैभन्दा न्यानो र दीर्घकालीन आधार हो भन्दै नेपालका कन्फ्युसियस इन्स्टिच्युटहरू, चीन सांस्कृतिक केन्द्र तथा करिब सय स्थानीय विद्यालयहरूले गुणस्तरीय चिनियाँ भाषा शिक्षा प्रदान गर्दै शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाएको बताए ।

चिनियाँ भाषामार्फत् सभ्यताको ढोका खोल्न, चिनियाँ भाषालाई पखेटा बनाएर हिमाल र समुद्र पार गर्दै नयाँ संसार अनुभव गर्न, चिनियाँ भाषालाई पुल बनाएर पुरानो मित्रतालाई निरन्तरता दिँदै चिनियाँ भाषालाई माध्यम बनाएर आफ्नो जीवनका रंगीन सपनाहरू साकार पार्न उनले सबै युवाहरूलाई आह्वान गरे ।

कार्यक्रममा विशेष अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक आर्यालले सम्बोधन गर्दै नेपालस्थित चिनियाँ राजदूतावास लगायत चिनियाँ विश्वविद्यालयहरूसँग त्रिभुवन विश्वविद्यालयसँग वैज्ञानिक अनुसन्धान, शैक्षिक तथा सांस्कृतिक सहकार्यप्रतिको निरन्तर प्रतिबद्धताको प्रशंसा गरे । त्रिभुवन विश्वविद्यालयले ज्ञान प्रवाहसँगै विभिन्न संस्कृतिबीच बौद्धिक पुल निर्माण गर्ने जिम्मेवारी बोकेको उल्लेख गर्दै उनले चिनियाँ भाषा शिक्षासँग विश्वविद्यालयको सम्बन्ध सन १९६१ देखि नै सुरु भएको स्मरण गराए । त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना भएपछि भाषा अध्ययन, सांस्कृतिक आदानप्रदान तथा शैक्षिक सहकार्य अझ व्यवस्थित रूपमा अघि बढेको बताउँदै हाल करिब ७०० विद्यार्थीले काठमाण्डौं उपत्यकादेखि पोखरासम्म फैलिएका १४ शिक्षण केन्द्रमार्फत चिनियाँ भाषा अध्ययन गरिरहेको जानकारी दिए । उनले भविष्यमा चिनियाँ भाषासहित अन्य अन्तर्राष्ट्रिय भाषामा स्नातक तहका कार्यक्रम सुरु गर्ने तथा चिनियाँ विश्वविद्यालयहरूसँग शैक्षिक आदानप्रदान र संयुक्त अनुसन्धानलाई थप सुदृढ बनाउने योजना रहेको बताए । नेपाल–चीनबीचको दीर्घकालीन मैत्री सम्बन्ध शिक्षा र संस्कृतिमार्फत अझ सुदृढ बन्दै गएको उल्लेख गर्दै उनले सेन्टर फर ल्याङ्ग्वेज एजुकेशन एण्ड कोअपरेशन, चिनियाँ राजदूतावास, ईस्ट चाइना युनिभर्सिटी अफ चाइना, छिङ्गहाई मिनचु युनिभर्सिटीप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ संस्थापक विश्वविद्यालय, ईस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका उपकुलपति तङ च्यु–चर्रले चिनियाँ भाषा हजारौं वर्ष पुरानो सभ्यताको अमूल्य सम्पदा भएको उल्लेख गर्दै यो केवल सञ्चारको माध्यम मात्र नभई विभिन्न क्षेत्र र संस्कृतिलाई जोड्ने महत्वपूर्ण सेतु भएको बताए । संयुक्त राष्ट्रसंघले सन् २०१० मा परम्परागत चिनियाँ सौर्य ऋतु ‘गुयु’ लाई चिनियाँ भाषा दिवसको रूपमा मान्यता दिएको प्रसंग उल्लेख गर्दै उनले चिनियाँ भाषा वास्तवमै विश्व सभ्यतालाई सिँच्ने माध्यम भएको धारणा व्यक्त गरे । साथै, त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना भएदेखि नै सांस्कृतिक आदानप्रदान र पारस्परिक सिकाइको उद्देश्यमा दृढ रहँदै नेपाल–चीनबीच भाषा शिक्षा सांस्कृतिक सहकार्यमा उल्लेखनीय योगदान दिएको बताए ।

चिनियाँ भाषाले भौगोलिक दूरीलाई पार गर्दै विभिन्न जाति र संस्कृतिका मानिसहरूबीच आपसी समझदारी अभिवृद्धि गर्ने ‘आध्यात्मिक सेतु’ का रूपमा काम गर्ने उल्लेख गर्दै उनले यसले भविष्यमा नेपाल–चीनबीचको मैत्री सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

छिङ्गहाई मिनचु विश्वविद्यालयका उपकुलपति शियाओ यु–लानले भिडियो सन्देश मार्फत कार्यक्रममा सम्बोधन गर्दै नेपालमा चिनियाँ भाषा शिक्षा प्रवद्र्धनमा संलग्न सबैप्रति आभार व्यक्त गरे । उाले चिनियाँ भाषा हजारौं वर्ष पुरानो सभ्यताको ज्ञान बोकेको महत्वपूर्ण सांस्कृतिक सम्पत्ति भएको उल्लेख गरे । साथै, ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ ले अन्तर्राष्ट्रिय सहकार्य र जनस्तरको सम्बन्ध विस्तारमा नयाँ अवसर सिर्जना गरेको र यसले उच्च शिक्षालाई समेत नयाँ जिम्मेवारी दिएको बताए ।

उनले चिनियाँ भाषाले संस्कृतिहरूलाई जोड्ने सेतु र भविष्य उज्यालो बनाउने माध्यम भएको उल्लेख गर्दै यसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय दृष्टिकोण र अन्तरसंस्कृतिक क्षमता विकास गर्न मद्दत गर्ने बताउनुभयो । उहाँले त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका संस्थापक चिनियाँ विश्वविद्यालयको नाताले आगामी दिनमा पनि सहकार्य, अनुसन्धान र शैक्षिक आदानप्रदानलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम स्वागत मन्तव्य दिने क्रममा त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक प्रा. चाङ शिङ्गनियनले त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युट “शून्य” बाट “अस्तित्व” हुँदै “सकृयता”सम्मको चार वर्षे यात्रा सफलतापूर्वक पूरा गरेको जनाउँदै, यस छोटो अवधिमा त्रिभुवन विश्वविद्यालयमा चिनियाँ  भाषा शिक्षालाई व्यापक बनाउँदै चीन–नेपाल मित्रताको इतिहासमा नयाँ आयाम थपेको उल्लेख गरे ।

उनले चिनियाँ भाषा अन्तर्राष्ट्रिय सम्पर्कको प्रभावकारी माध्यम बनेको र  पर्यटन, व्यापार तथा शैक्षिक सहकार्यलाई सुदृढ बनाइरहेको उल्लेख गर्दै, चिनियाँ भाषा सिक्नु केवल भाषा ज्ञान प्राप्ति मात्र नभई नयाँ अवसर र सम्भावनाको ढोका खोल्ने माध्यम भएको धारणा व्यक्त गर्नुभयो । साथै, त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटले आगामी दिनमा “भाषा शिक्षा, संस्कृति प्रवद्र्धन र आदान–प्रदान” लाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै “पेशा बिशेष चिनियाँ भाषा” कार्यक्रम विस्तार गर्ने, विविध सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्ने तथा नेपाल–चीन युवा पुस्ताबीच संवाद र सहकार्यका नयाँ अवसर सिर्जना गर्ने योजना रहेको बताए ।

त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्षका निमित्त निर्देशक डा. बलराम दुवालले समारोहमा चिनियाँ भाषा शिक्षक तथा विद्यार्थीहरूको मनमोहक प्रस्तुतिले कार्यक्रमलाई अझ आकर्षक बनाएको उल्लेख गर्दै उनले उपस्थित सम्पूर्ण अतिथि, सहकर्मी, विद्यार्थीहरू, विभिन्न शैक्षिक तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, सञ्चारकर्मीलाई धन्यवाद ज्ञापन गरे ।

उनले त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटले छोटो अवधिमा चिनियाँ भाषा शिक्षाको प्रवद्र्धन र नेपाल–चीन सांस्कृतिक आदान–प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।

कार्यक्रममा चिनियाँ तथा नेपाली गीत–संगीत, नृत्य, थाई–ची, कविता वाचन, नाट्य प्रस्तुति तथा सुलेखन, कागज काट्ने कला र चिनियाँ चिया संस्कारजस्ता गतिविधिहरूमार्फत चिनियाँ भाषा र संस्कृतिको विविधता जीवन्त रूपमा प्रस्तुत गरिएको थियो ।

प्रकाशित: १३ वैशाख २०८३ २१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App