२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

चीनले समाजवादी सिद्धान्तलाई व्यवहारमा उतारेर विश्वसामु एक अनुपम उदाहरण प्रस्तुत गरेको छ: पूर्वप्रधानमन्त्री खनाल

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाल खनालले चीनले समाजवादी सिद्धान्तलाई व्यवहारमा उतारेर विश्वसामु एक अनुपम उदाहरण प्रस्तुत गरेको बताएका छन्।

बिहीबार (आज) चिनियाँ कम्युनिष्ट पार्टी, हेनान प्रान्तीय कमिटीलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले यस्तो बताएका हुन्। 'पुँजीवादी आधुनिकीकरणले बढाएको असमानताको खाँडलको सट्टा चीनले विश्वका सबै नागरिकलाई विकासको मूल प्रवाहमा समेट्ने लक्ष्य लिएको छ। किनभने साझा समृद्धि हासिल गर्नु समाजवादको एक अनिवार्य र आधारभूत सिद्धान्त हो र समाजवादी चीनले यही सिद्धान्तलाई व्यवहारमा उतारेर विश्वसामु एक अनुपम उदाहरण प्रस्तुत गरेको छ,' सम्बोधनका क्रममा उनले भनेका छन्।

त्यही समाजवादी सिद्धान्त र जनताप्रतिको प्रतिबद्धतालाई अङ्गीकार गरेकै कारण चीनले छोटो अवधिमा करिब ८० करोडभन्दा बढी जनतालाई गरिबीको निरपेक्ष रेखाबाट बाहिर निकाल्न सफल भएको पनि उनले बताए। 'यो कुनै सामान्य उपलब्धि होइन, यो मानव इतिहासमै एक अभूतपूर्व र चमत्कारी सफलता हो। यही समाजवादी क्रान्ति र रूपान्तरणको जगमा उभिएर महासचिव सीले प्रस्ताव गर्नुभएको साझा समृद्धिको चिनियाँ मार्गले चिनियाँ कम्युनिस्ट पार्टीको समाजवादप्रतिको निरन्तर प्रतिबद्धतालाई मात्र दर्शाउँदैन, बरु यसले ‘जनताका लागि शासन भन्ने समाजवादी मान्यतालाई मूर्त रूप दिएको छ,' उनले भनेका छन्।

पूर्वप्रधानमन्त्री खनालले विश्वले चिनियाँ विशेषतासहितको आधुनिकीकरणको मोडललाई गहिरो चासो र उत्सुकताका साथ हेरिरहेको पनि बताए। 'महासचिव कमरेड सी जिनपिङले अगाडि सार्नुभएको यो नवीन अवधारणा केवल भौतिक पूर्वाधार वा आर्थिक विकासको मात्र कुरा होइन, यो मानवताको साझा भविष्य, वातावरणीय सन्तुलन र सामाजिक न्यायसँग जोडिएको एक प्रगतिशील विश्व-दृष्टिकोण हो। यस मोडलको सबैभन्दा महत्त्वपूर्ण र प्रेरणादायी विशेषता भनेको ‘विश्वका सबै जनताको साझा समृद्धिको लागि आधुनिकीकरण’ भन्ने हो,' उनले भनेका छन्।

पूर्वप्रधानमन्त्री खनालले बेइजिङमा आयोजना हुन गइरहेको 'विश्व सभ्यता संवाद' कार्यक्रममा सहभागिता जनाउँदैछन्।

प्रकाशित: २६ असार २०८२ २१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App