१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रहरी समायोजनको प्रक्रिया शीघ्र टुङ्ग्याउन सङ्घीय सरकारसँग मुख्यमन्त्री थापाको आग्रह

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रहरी समायोजनको प्रक्रिया शीघ्र टुङ्ग्याउन सङ्घीय सरकारसँग आग्रह गरेका छन्।

प्रदेशको शान्ति सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन मुख्यमन्त्री थापा मगरले यस्तो माग गरेका हुन्। 

७१औँ प्रहरी दिवस–२०८३ का अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले नेपालको संविधानले प्रदेशलाई प्रदान गरेका अधिकार र जिम्मेवारी प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी समायोजन महत्त्वपूर्ण रहेको बताए। उनले प्रक्रिया पूर्ण रूपमा अघि बढ्न नसक्दा प्रदेश सरकारलाई शान्ति सुरक्षा व्यवस्थापन तथा प्रहरी प्रशासनलाई प्रभावकारी बनाउन व्यावहारिक कठिनाइ भइरहेको भनाइ राखे।

प्रदेशको भौगोलिक अवस्था, स्थानीय आवश्यकता र सुरक्षा चुनौतीलाई नजिकबाट बुझ्ने प्रदेश सरकारले प्रहरी परिचालन, जनशक्ति व्यवस्थापन तथा सेवा प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने वातावरण आवश्यक रहेको उनले उल्लेख गरे।

प्रहरी समायोजनमा ढिलाइ हुँदा संविधानले परिकल्पना गरेको सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयनमा समेत चुनौती उत्पन्न भएको उनको भनाइ थियो। त्यसैले सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायबीच आवश्यक समन्वय, सहकार्य र संवादमार्फत प्रहरी समायोजन प्रक्रिया यथाशीघ्र निष्कर्षमा पुर्‍याउन उनले आग्रह गरे।

प्रहरी समायोजनबाट प्रदेशको शान्ति सुरक्षा व्यवस्थापन व्यवस्थित हुनुका साथै प्रहरी कर्मचारीको वृत्ति विकास, जनशक्ति परिचालन र नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्ने कार्यमा सकारात्मक परिणाम आउने विश्वास पनि उनले व्यक्त गरे।

बागमती प्रदेश सरकारले प्रदेशभित्र शान्ति सुरक्षा सुदृढ गर्ने, विपद् जोखिम न्यूनीकरण गर्ने, उद्धार तथा राहत कार्य व्यवस्थित बनाउने र नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री थापा मगरले बताए।

प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धि, आधुनिक अनुसन्धान प्रणालीको विकास, विपद् प्रतिकार्यसम्बन्धी सीप तथा उपकरणको उपलब्धता र नागरिकमैत्री सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

त्यसैगरी, समुदायसँगको सहकार्यमा अपराध नियन्त्रण, विद्यालय तथा समुदायमा सचेतना अभिवृद्धि, महिला र बालबालिकाको सुरक्षामा संवेदनशीलता तथा प्रविधिमा आधारित अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनले बताए।

प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश प्रहरी कार्यालयसहित विभिन्न प्रहरी भवन तथा पूर्वाधार निर्माण र सवारीसाधन उपलब्ध गराउन सहयोग हुँदै आएको उल्लेख गर्दै उनले प्रहरी संगठनलाई अझ सक्षम, आधुनिक, व्यावसायिक र उत्तरदायी बनाउन प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय र सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे।

प्रहरी र नागरिकबीचको सम्बन्ध विश्वास, सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने बताउँदै उनले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको उल्लेख गरे।

सम्बोधनका क्रममा मुख्यमन्त्री थापा मगरले कर्तव्य निर्वाहका क्रममा जीवन उत्सर्ग गर्ने अमर प्रहरीहरूको त्याग र बलिदानको स्मरण गरे। उनले घाइते, अशक्त तथा सेवानिवृत्त प्रहरी कर्मचारीको योगदानको सम्मान र उनीहरूको कल्याणमा ध्यान दिनु राज्यको जिम्मेवारी भएको बताए।

अन्त्यमा उनले ७१औँ प्रहरी दिवसले नेपाल प्रहरीलाई अझ व्यावसायिक, जनउत्तरदायी, अनुशासित र प्रविधिमैत्री संगठनका रूपमा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्दै सेवारत प्रहरी कर्मचारीको सुरक्षा, सफलता र उत्तरोत्तर प्रगतिको कामना गरे। साथै, कर्तव्य निर्वाहका क्रममा घाइते भएका प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ७१औँ प्रहरी दिवसको शुभकामना व्यक्त गरे।

प्रकाशित: ३० आश्विन २०८३ १३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App