कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गुणस्तरीय निर्माण कार्यमा ध्यान दिन सचिव र कार्यालय प्रमुखलाई निर्देशन दिएका छन्।
भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय कर्णाली प्रदेशले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित वार्षिक समीक्षा र कार्ययोजना तर्जुमा गोष्ठीमा मुख्यमन्त्री कँडेलले योजनाको कार्यान्वयनमा ढिलाइ, रकम खर्चको असन्तुलन, अनुगमनको कमजोरी र गुणस्तरहीन निर्माण कार्यजस्ता चुनौती दोहोरिन नदिन सचिव र कार्यालय प्रमुखलाई निर्देशन दिए।
योजना कागजमा मात्र सीमित नहोस् भनी समयमै र परिणाममुखी ढंगले कार्यान्वयन गर्नुपर्ने उनले बताए। उनले भने, ‘हामीले विगतमा गरेका कमजोरीबाट पाठ सिकेर आगामी बजेट कार्यान्वयनमा ध्यान दिनुपर्छ। गत आर्थिक वर्षमा देखिएका कमजोरी र चुनौतीबाट शिक्षा लिँदै चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफूलाई जिम्मेवार बनाउनुस्।’
जनताको आवश्यकता बुझेर योजना बनाए मात्र जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्न सकिने मुख्यमन्त्री कँडेलको भनाइ थियो। संघ, प्रदेश, स्थानीय तह र आयोजना कार्यान्वयन एकाइबीचको समन्वय बलियो बनाउँदै अनुगमन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने उनले बताए। मुख्यमन्त्री कँडेलले बजेट निर्माणदेखि कार्यान्वयनसम्म प्रत्येक चरणमा पारदर्शिता, जवाफदेहिता र समन्वय गर्न सुझाए।
गोष्ठीमा प्रदेश मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुख, दस जिल्लाका कार्यालय प्रमुखको उपस्थिति थियो। सहभागीले योजना कार्यान्वयनमा देखिएका व्यावहारिक समस्या र सम्भावित समाधानका उपाय प्रस्तुत गरेका थिए। रासस
प्रकाशित: ९ श्रावण २०८२ १८:११ शुक्रबार





