पारिवारिक विरासतको पदचाप पछ्याउँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामका ३८ बर्षे युवा क्षितिज थेबे अब सांसदको जिम्मेवारीमा पुगेका छन्। २०७४ मा बाहेक ७० को दशकदेखि थेबेको परिवारले निरन्तर संसदीय भूमिका पाइरहेको छ। २०७० सालको संविधानसभाको निर्वाचनमा त्यो बेला दुई निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट क्षितिजका बुबा भूपेन्द्र संविधानसभा सदस्य भए। संविधानसभा सदस्य हुनुभन्दा अघि भूपेन्द्र तत्कालिन गाविस अध्यक्ष र प्रधानपञ्चको भूमिकामा समेत थिए।
यस्तै, २०७४ सालको स्थानीय तहको निर्वाचनमा सिरिजङ्गा गाउँपालिका वडा नं १ सिनामबाट वडाध्यक्ष बनेकी क्षितिजकी आमा उर्मिला नेम्बाङ थेबे २०७९ सालमा प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद बनिन्। त्यसको तीन बर्षपछि छोरा क्षितिजले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका हुन्। अब क्षितिजको जिम्मेवारी संसद सदस्यको रुपमा अघि बढेको छ। प्रतिनिधिसभा सदस्य २०८२ मा ताप्लेजुङबाट उम्मेदवारी दिएका थेबे १३ राजनीतिक दलका १३ उम्मेदवारमध्ये सबैभन्दा कान्छा हुन्। सबैभन्दा कान्छा उमेरका उनैले निर्वाचनमा बाजी मारे।
जनप्रतिनिधिका रुपमा स्थापित हुन पहिलोपटक चुनावी मैदानमा लडेका थेबेले पहिलो प्रयासमै बाजी मार्दा बाबु र आमा पछि उनको पारिवारीक विरासतमा संसदीय यात्राले निरन्तरता पाएको छ। निर्वाचित भएको प्रमाणपत्र ग्रहणपछि क्षितिजले अब आफ्नो जिम्मेवारीलाई कामले प्रमाणित गर्ने दावी गरेका छन्। उनले सम्पूर्ण मतदाताको आफुप्रतिको विश्वासलाई आफ्नो जिम्मेवारीको रुपमा ग्रहण गर्ने बताएका छन्।
यो परिवारको राजनीतिक विरासत निकै लामो छ। क्षितिजका बुबा र आमा मात्र होईन, उनका बाजे (हजुरबुबा) र जिजुबाजे (हजुरबुबाका बुबा) समेत राजनीतिक पृष्ठभूमि र जनप्रतिनिधिको भूमिका थिए। क्षितिजका हजुरबुबा मनप्रसाद २०२४ देखि २०३२ सम्म तत्कालिन सिनाम गाउँ पञ्चायतको प्रधानपञ्च थिए। हजुरबुबाका बुबा भीमबहादुर २०१७ देखि २०२४ सालसम्म सिनाम गाउँ पञ्चायतको प्रधानपञ्चको जिम्मेवारीमा रहे। भूपेन्द्रले २०४३ सालमा सिनाको प्रधानपञ्च बनेभने २०४९ र २०५४ को स्थानीय निकायको निर्वाचनबाट सिनाम गाविसको अध्यक्ष भएर काम गरे। २०५४ को स्थानीय निकायको निर्वाचनमार्फत भूपेन्द्रका दाजु विजयराज तत्कालिन जिल्ला विकास समितिको सभापति थिए।
क्षितिज अहिले नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। उनले दुईपटक एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्ष बने। निर्वाचनको प्रचारकै सम्मुखमा क्षितिजले आफ्नो जिम्मेवारी महाराज गुरुङलाई सुम्पिएर फेरि उनी निर्वाचन केन्द्रित अभियानमा फर्किएका थिए। क्षितिजका बुबा भूपेन्द्र नेकपा एमाले ताप्लेजुङको जिल्ला कमिटी अध्यक्ष समेत भए। आमा उर्मिला एमालेकी निवर्तमान केन्द्रीय सदस्य समेत हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्रको रुपमा चर्चा गरिएका क्षितिजलाई टिकट दिएर उपमहासचिव योगेशकुमार भट्टराईलाई पन्छाएको आरोप समेत एमालेले खेप्यो। तर,उपमहासचिव भट्टराई क्षितिजको मनोनयन दर्ता देखि चुनावी प्रचारसभामा आफैं उपस्थित भएर एमाले कार्यकर्ताको उत्साह मात्र बढाइदिएनन्, उनले क्षितिजलाई पार्टीबाट सर्वसम्मत रुपमा उम्मेदवार बनाएको बताएर टिकट बितरणमा पार्टी अध्यक्षले काखापाखा गरेको आरोपलाई खारेज समेत गरिदिए। ‘सिङ्गो पार्टी संगठनको खटाई, कार्यकर्ताको त्याग मतदाताहरुको विश्वास नै म प्रतिको भरोसा हो’ क्षितिजले भनेका छन्।
प्रकाशित: २४ फाल्गुन २०८२ १४:०५ आइतबार


-600x400.jpg)


