नेपाल प्रिमियर लिग (एनिपएल) काे फ्रेन्चाइज टीम कर्णाली याक्सले धावक हरिबहादुर राेकायलाई सम्मान गरेकाे छ । कर्णाली याक्सले दुई लाख ५० हजार नगदसहित सम्मान गरेकाे हाे ।
`खेलमार्फत कर्णालीसँगै समग्र देशकाे शीर उँचाे बनाउन धावक राेकायाले खेलेकाे भूमिकाकाे उच्च प्रशंशा गर्दै सम्मान गरेका हाैं,´ कर्णाली याक्सका प्रमुख गेहेन्द्र घिमिरेले भने, `उहाँबाट प्रेरणा लिएर नयाँ पुस्ताका खेलाडीहरू अघाडि बढ्न जरूरी छ ।´
कार्यक्रममा धावक राेकायाले जुम्लाकाे तालकाेटमा हाइअल्टिच्युट ट्रेनिङ सेन्टर सन्चालन गर्ने आफ्नाे सपना रहेकाे बताए । `अहिले आफ्नै जमिनमा सेन्टर चलाइराखेकाे छ, त्याे प्रयाप्त छैन्,´ उनले भने, `हिमालकाे काखमा रहेकाे तालकाेटमा ट्रेनिङ सेन्टर खाेल्ने सपना छ, त्यसलाई पूरा गरिदिन सबैले सहयाेग गरिदिनु हाेला ।´
कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले धावक राेकायाले कर्णाली र देश चिनाउन खेलेकाे भूमिका महत्वपूर्ण रहेकाे बताए । उनले धावक राेकाया पढेकै स्कुलमा आफू पढ्न पाउँदा गाैरवकाे अनभूति भएकाे बताए ।
प्रकाशित: १९ आश्विन २०८३ १२:५८ सोमबार





