नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी संस्थापन पक्ष र नेतृत्वको वरिपरि रमाइरहेको समूहलाई व्यंग्य गर्न बिरालो र ऐनाको लोककथा सुनाएका छन्।
आइतबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता भण्डारीले सत्ता र शक्तिको आडमा रमाइरहेका नेताहरूलाई लक्षित गर्दै यो प्रतीकात्मक कथा प्रस्तुत गरेका हुन्।
नेतृत्वको वरिपरि रहने समूहलाई बिरालोको संज्ञा दिँदै भण्डारीले भने, ‘बिरालोले भन्छ रे- यो घरको मालिक मर्यो भने म ऐनामा गएर आगो ताप्ने थिएँ। तर, ऐना त सधैँ तातो रहिरहन्न नि !’
घरको मालिकले आगो बाल्दासम्म मात्र ऐनामा त्यसको राप (तातो) आउने भन्दै उनले मालिक नहुँदा वा दाउरा थप्ने मान्छे नहुँदा ऐना चिसो हुने यथार्थ बुझ्न संस्थापन पक्षका नेताहरूलाई चेतावनी दिए।
‘हाम्रा साथीहरूलाई लाग्यो होला, अब दाउरा जोड्दिने मान्छे नभए भने त्यो ऐना तातो रहिरहन्न,’ भण्डारीले कथालाई पार्टीको अवस्थासँग जोड्दै भने, ‘तपाईंहरूलाई हामीले इन्जेक्सन दिन सकेनौँ, विचारको इज्जत दिन सकेनौँ भने त्यो ऐना चिसो भएझैँ हाम्रो कांग्रेस चिसो हुन्छ।’
उनले नेतृत्वको वरिपरि रहनेहरूले अहिले पाइरहेको अवसर सधैँ नरहने र पार्टीमा विचारको दाउरा नथपिए कांग्रेस नै चिसो हुने (सकिने) जोखिम औँल्याए। ‘अब हामीले यो कांग्रेसलाई चिसो हुन दिँदैनौँ, अब हामी अगाडि बढ्छौँ,’ उनले भने।
प्रकाशित: २७ पुस २०८२ १७:१३ आइतबार





