निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता मिति तय गरेको छ । आयोगले आइतबार प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम घोषणा गरेको हो । जसअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ आगामी माघ ६ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ तथा निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने भएको छ । आयोगद्वारा प्रकाशित निर्वाचन कार्यक्रममा मंसिर २१ गते बिहान १० देखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्ने, मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने उल्लेख छ । त्यसैगरी पुस १३ र १४ गते विहान १० बजेदेखि ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने र माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ । फागुन २१ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।
नयाँ दल दर्ताका लागि ६ दिन समय थप
निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिने समय ६ दिन थप गरेको छ । आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानले मंसिर ६ गतेसम्म नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिन सक्ने व्यवस्था मिलाइएको बताए । उनका अनुसार नयाँ दल दर्ताका लागि मंसिर ६ गतेसम्म निवेदन दिन सकिन्छ ।
त्यसैगरी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन प्रयोजनका लागि भने दलहरूले मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निवेदन दिनुपर्ने व्यवस्था आयोगले मिलाएको छ । ‘नयाँ दल दर्ताका लागि निवेदन दिने समय मंसिर ६ गतेसम्म म्याद थप गरेका छौं तर आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन प्रयोजनका लागि भने मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निवेदन दिइसक्नुपर्नेछ,’ आयोगले भनेको छ । आयोगबाट मान्यता पाएका दलहरूले समेत फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि पुनः निवेदन दिनुपर्ने न्यौपानको भनाइ छ ।
‘निर्वाचन आयोगमा दल दर्ता गर्ने नियमित प्रक्रिया हो । अहिले हामीले नियमित प्रक्रियाको काम गरीरहेका छौ । आगामी फागुन २१ गते घोषणा गरिएको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न मंसिर १ देखि मंसिर १० गतेसम्म समय राखेका छौं,’ उनले भने । उनका अनुसार नयाँ दल दर्ताका लागि मंसिर ६ गतेसम्म निवेदन दिएका र आयोगले दल दर्ताको मान्यता दिएका दलहरूले समेत फागुन २१ गतेको निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्नेछ । ‘निर्वाचन आयोगबाट दल दर्ताको मान्यता पाएका दलहरूले निर्वाचनमा भाग नलिन पनि सक्छन्,’ उनले भने, ‘त्यसैले निर्वाचन घोषणा भइसकेपछि निर्वाचनमा भाग लिने प्रयोजनका लागि पुनः दल दर्ता गर्नुपर्ने हुन्छ ।’
सहायक प्रवक्ता न्यौपानका अनुसार आइतबारसम्म आयोगबाट दल दर्ताको मान्यता पाएका पुराना र नयाँसहित एक सय २७ वटा दल छन् । यसैगरी ३२ वटा नयाँ दलले दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । ती दलहरू दर्ता प्रक्रियामै छन् । आयोगका अनुसार दल दर्ताको प्रक्रियामा रहेको राष्ट्रिय जेनजी पार्टी नेपालले भने दल दर्ताका दिइएको निवेदन आइतबार फिर्ता लिएको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन–नियमावलीअनुसार दल दर्ता गरिरहेको छ । जस अनुसार दल दर्ताका लागि कम्तीमा २१ सदस्यीय केन्द्रीय समिति, विधान, घोषणापत्र र पाँच सय मतदाताको हस्ताक्षरसहितको प्रतिबद्धता–पत्र आवश्यक पर्छ ।
नियमानुसार दल गर्न प्रक्रिया पूरा गरेका दलहरूलाई आयोगले ४५ दिनभित्र दर्ता प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ । आयोगका अनुसार दल दर्ताका लागि निवेदन परेका दलहरूबारे आयोगका अधिकारीहरूले सनाखत र कागजात रुजु गर्ने काम गरिरहेका छन् । यतिबेला नयाँ नामका दल दर्ता गर्न होडबाजी भइरहेको छ । आयोगमा अहिले थरीथरी नामका दलहरूबाट दर्ताका लागि निवेदन दिने काम भइरहेको छ । दल दर्ताका लागि निवेदन दिनेहरूले निर्वाचन चिह्न पनि रोज्न सक्ने व्यवस्था मिलाइएको छ ।
प्रकाशित: ३० कार्तिक २०८२ २१:३२ आइतबार





