३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

आज उम्मेदवारी दर्ता : मनोनयन गर्न जाँदा तडकभडक नगर्न निर्वाचन आयोगको आग्रह

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि एक सय ६५ निर्वाचन क्षेत्रमा मंगलबार उम्मेदवार मनोनयन दर्ता हुँदै छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम राखिएको छ। देशभरिका एक सय ६५ वटै निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।

आयोगका अनुसार बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ। आयोगले प्रकाशन गरेको तालिकाअनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिने समय राखिएको छ। यसैगरी माघ ७ गते दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी त्यसै दिन बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

यसैगरी माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ। माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ। आयोगले एक सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय खोलेको छ। ती सबै कार्यालयले निर्वाचनको तयारी पूरा भएको आयोगको भनाइ छ।

यसैबिच निर्वाचन आयोगले उम्मेदवारी मनोनयन दर्ता गर्न जाँदा तडकभडक नगर्न आग्रह गरेको छ। मनोनयन दर्ताको पूर्वसन्ध्यामा सोमबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको अपिल जारी गर्दै भनेका छन्, ‘उम्मेदवारी कायम गर्न जाँदा बाजागाजालगायतका तडकभडक कानुनले पूर्ण रूपमा निषेध गरेको छ,’ उनले भनेका छन्, ‘अब भोलि अर्थात् माघ ६ गते जो-जो चुनिन चाहनुहुन्छ उहाँहरूको मनोनयन पत्र दाखिल गर्ने समय आएको छ।’

उनले अब निर्वाचन कार्यतालिकामा पनि परिमार्जन नहुने पनि प्रस्ट पारेका छन्। ‘अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने, थप्ने, घटाउनेलगायत काम हुँदैनन्,’ उनले भने, ‘तोकिएकै समयमा मनोनयनपत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ। आयोग यसैमा ढुक्क छ।’ निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु गरिसकेको छ। आयोगका अनुसार देशभरि एक सय ६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ/छैन भनी रुजु गर्न आवश्यक सामग्री पुगिसकेको छ। आयोगले यसपटक आचारसंहितामै उल्लेख गरेर उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ। 

उक्त विवरण खामबन्दी गरेर बुझाउनुपर्नेछ। उम्मेदवारीसँगै १३ प्रकारका कागजात पेस गर्नुपर्ने आयोगका अनुसार उम्मेदवार मनोनयनपत्र दर्ता गर्न जाँदा उम्मेदवारले १३ प्रकारका कागजात संलग्न गर्नुपर्नेछ। उम्मेदवारको नागरिकता प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, कुनै स्थानीय तहको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्नेछ। यसैगरी उम्मेदवारी मनोनयन गर्न संघीय प्रदेश वा स्थानीय सरकार तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व अथवा नियन्त्रणमा रहेको वा तिनै तहका सरकारबाट अनुदान प्राप्त संस्थाबाट पारिश्रमिक पाउने गरी बहाल रहेको भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा पनि राख्नुपर्नेछ। मतदाता नामावलीमा नाम समावेश भएका एक प्रस्तावक र एक समर्थक भई विवरण भरी सहीछाप गरेको मनोनयनपत्र पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ।

यसैगरी निर्वाचन अधिकृतको कार्यालयमा १० हजार धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेस गर्नुपर्नेछ। महिला र दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा भने धरौटी रकममा ५० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ। त्यस्तै वैयक्तिक विवरण फारम, निर्वाचित, मनोनीत वा नियुक्त भएको निकायबाट कुनै पनि प्रकारको पेस्की लिएको भए फर्छ्योट भएको ब्यहोराको निस्सासमेत संलग्न गर्नुपर्नेछ। लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारका नाममा किटानीसाथ असुलउपर गर्नुपर्ने भनी कायम भएको बेरुजु भए फर्छ्योट गरेको निस्सा र निर्वाचन आचारसंहिता, २०८२ को अनुसूची ३ बमोजिमको प्रतिबद्धतापत्र पनि समावेश गर्नुपर्ने आयोगले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: ६ माघ २०८२ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App