सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा व्यापारी दीपक भट्टको राहदानी रोक्का राखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेलगत्तै विगतमा राजनीतिक पहुँच विस्तार गरी नीतिगत भ्रष्टाचारमा सहयोग पुग्ने काम गरी गैरकानुनी आयआर्जन गरेको आरोपमा उनको राहदानी रोक्का रािखएको हो।
राजनीतिक दलका नेता र सरकारसँगको पहुँच दुरुपयोग गरेर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन गर्न सरकारले व्यापारी भट्टको राहदानी रोक्का राखेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए। ‘सम्पत्ति शुद्धीकरण विभागले गरेको आग्रहअनुसार अनुसन्धानका लागि भट्टको राहदानी रोक्का राखिएको हो,’ अध्यागमन विभागका एक अधिकारीले भने।
व्यापारी भट्टमाथि विगतमा राज्यसत्तामा रहेका व्यक्तिहरूलाई प्रभावमा पारेर गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लाग्दै आएको थियो। सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरले अनुसन्धानका क्रममा हुने प्रक्रियालाई ठुलो विषय बनाइरहनु नपर्ने बताएका छन्। ‘अनुसन्धान चलिरहेको विषयमा सामान्य प्रक्रिया मात्रै हो। यो कुनै ठुलो विषय होइन,’ उनले भने। विभागले बैंकिङ र बिमासम्बन्धी कसुर, राजस्व छली, सार्वजनिक सम्पत्तिको हानि–नोक्सानीजस्ता कार्यमा अनुसन्धान गरिरहेको स्रोतको दाबी छ। सम्पत्ति शुद्धीकरण विभागले थप विषयहरू खुलाउन चाहेन। विभागले व्यापारी भट्टका आफन्तहरूका नाममा रहेको सम्पत्ति विवरण पनि अनुसन्धान गरिरहेको छ।
व्यापारी भट्ट इन्फिनिटी होल्डिङ्सका सञ्चालक हुन्। आफू प्रमुख रहेको इन्फिनिटी होल्डिङ्स र त्यसमार्फत गरिएका कारोबारहरू शंकास्पद रहेको आशंकामा भट्ट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका थिए। कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला सबैभन्दा बढी चलखेल गरेको आरोप लागेको छ। पूर्वप्रधानमन्त्रीहरू देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहालसँग उनले नजिकको सम्बन्ध स्थापित गरेर राज्यसत्ताको दुरुपयोग गरेको आरोप लामो समयदेखि लाग्दै आएको छ।
भट्ट र उनी आबद्ध इन्फिनिटी सुरक्षा निकायका लागि हतियार खरिदमा विदेशी कम्पनीको प्रतिनिधिका रूपमा पनि काम गर्दै आएका छन्। हिमालयन रि–इन्स्योरेन्सलाई लाइसेन्स दिनेदेखि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिलाउन धितोपत्र बोर्डदेखि बिमा प्राधिकरणसम्मको नियुक्तिमा भट्टले चलखेल गर्ने गरेको आरोप छ। विभागले व्यापारी र उच्च तहका नेता तथा सरकारी पदाधिकारीसहित २६ जनाभन्दा बढीको विषयमा लामो समयदेखि अनुसन्धान गर्दै आएको छ। त्यही अनुसन्धानका क्रममा व्यापारी भट्टको गतिविधिबारे केही गम्भीर तथ्य देखा परेकाले राहदानी रोक्का गर्नुपरेको विभागले जनाएको छ।
तत्कालीन सरकारले व्यवसायी भट्टलाई सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन तामेलीमा राखेको थियो। व्यापारी भट्टको करोडौंको शंकास्पद बैंकिङ कारोबार भेटिएपछि नेपाल राष्ट्र बैंकले अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र पठाएको थियो। तर राष्ट्र बैंकबाटै कारबाही गर्नुनपर्ने पत्र लेखेर भट्टको उजुरीलाई तामेलीमा राखिएको थियो। गत असोजमा जेनजी अगुवाले भट्टको सम्पत्ति छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै उजुरी दिएका थिए। सोही पत्रका आधारमा विभागले पुनः अनुसन्धान थालेको हो।
इन्फिनिटी होल्डिङ्सका सञ्चालकसमेत रहेका दीपक भट्टमाथि गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा सरकारले छानबिन गर्न थालेको छ। उनी यसअघि पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका थिए।
गत वैशाख ३० मा भट्टमाथि राष्ट्र बैंकले आफैं कारबाही गर्ने भन्दै विभागबाट उजुरी फिर्ता लिएको थियो। त्यसपछि विभागले भट्टको फाइल तामेलीमा राखेको थियो। ‘सम्बन्धित नियमनकारी निकायबाटै सोतर्फ कारबाही हुनुपर्ने देखियो’ भन्दै छानबिन रोकिएको थियो। व्यवसायी भट्टको सम्पत्ति शुद्धीकरणको फाइल तामेलीमा राख्दा विभागको महानिर्देशकमा सुमन दाहाल थिए।
भट्टको एकल स्वामित्वमा रहेको कम्पनी इन्फिनिटी होल्डिङ प्रालिको चुक्ता पुँजी एक वर्षमा तीन करोडबाट ४८ करोड कसरी पुग्यो भन्ने विषयमा अनुसन्धान हुनुपर्ने उजुरीमा उल्लेख थियो। २०७७ असारमा सो कम्पनीको चुक्ता पुँजी तीन करोड रहेकोमा २०७८ असार मसान्तमा ४८ करोड पुगेको थियो। भट्टको व्यक्तिगत खातामा जगदम्बा स्टिल्सको खाताबाट ४५ करोड जम्मा भएको थियो।
कम्पनीको खाताबाट सो रकम भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा गएको थियो। जुन कारोबारको प्रयोजन र वास्तविक धनीको पहिचान नखुलेको राष्ट्र बैंकको पत्रमा उल्लेख थियो। हिमालयन रि–इन्स्योरेन्स लिमिटेड र इन्फिनिटी होल्डिङ प्रालिबिचको करोडौंको कारोबार पनि नखुलेको विभाग स्रोतको दाबी छ। जगदम्बा र हिमालयन रि–इन्स्योरेन्ससँग उनको कारोबार व्यवसायी कामबापतको भनेर समेत उजुरी परेको थियो। हिमालयन रि–इन्स्योरेन्स भट्टकै अग्रसरतामा खोलिएको संस्था हो। त्यहाँ अन्य व्यापारी पनि साझेदार छन्।
प्रकाशित: १७ चैत्र २०८२ २१:४५ मंगलबार





