सरकारले वि.सं. २०८५ लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ।
सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट पर्यटन क्षेत्रको पुनरुत्थान र पूर्वाधार विकासका लागि यस्तो योजना अघि सारेका हुन्।
‘भिजिट नेपाल २०८५’ को पूर्वतयारीका लागि पर्यटकको आगमन सङ्ख्या, खर्च र बसाई अवधि बढाउने गरी अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रवर्द्धन गरिने सरकारको योजना छ।
यसका लागि ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियान सञ्चालन गरी पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ जस्ता पवित्र क्षेत्रलाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गरिने राष्ट्रपति पौडेलले बताए।
पर्यटन पूर्वाधारतर्फ सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न र थप अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने भएको छ।
अन्तर्राष्ट्रिय विमानस्थलहरूमा ‘ई-गेट’ प्रणाली जडान गरी यात्रीहरूको प्रतीक्षा समय घटाइने र पर्यटक भिसा सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमा आबद्ध गरिने नीतिमा उल्लेख छ।
सरकारले पर्वतीय पर्यटनको सुरक्षा, खोज तथा उद्धार प्रणालीलाई थप भरपर्दो बनाउन आधुनिक प्रविधिको प्रयोग गर्ने घोषणा गरेको छ।
यस्तै, धार्मिक, सांस्कृतिक, आरोग्य, चलचित्र र आध्यात्मिक पर्यटनलाई उदीयमान गन्तव्यका रूपमा विकास गर्दै नेपाललाई विश्वकै प्रमुख पर्यटकीय आकर्षणको थलो बनाउने लक्ष्य राखिएको छ।
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले अध्यागमन बिन्दुबाटै पर्यटकीय अनुमति र सेवाहरूलाई एकीकृत गरी ‘एकद्वार डिजिटल पर्यटन प्रणाली’ लागू गरिने जानकारी दिए।
प्रकाशित: २८ वैशाख २०८३ १७:१० सोमबार





