१ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

प्रस्तावित राजदूत सुनारमाथि महिला हिंसादेखि घूससम्मको आरोप, सबै अस्वीकार

साउदी अरेबियाका लागि प्रस्तावित आवासीय राजदूत गिरीबहादुर सुनारले आफूमाथि लागेका महिला हिंसा, आर्थिक असुली तथा जर्मनीबाट डिपोर्ट भएको लगायतका सबै गम्भीर आरोपहरू अस्वीकार गरेका छन्।

बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका प्रश्नहरूको जबाफ दिँदै उनले १३ वर्षअघि फोनमा भएको भनाभनलाई अहिले राजदूत सिफारिस भएपछि चरित्रहत्या गर्ने नियतले उचालेको दाबी गरे।

सुनुवाइका क्रममा नेकपा एमालेकी सांसद पद्मा अर्यालले सुनारको नैतिक चरित्र र राजदूत बन्ने योग्यतामाथि प्रश्न उठाएकी थिइन्।

‘तपाईंले तपोवनमा प्रेम सम्बन्धमा रहेको स्वीकार गर्नुभएको छ। प्रेम सम्बन्धमा हुँदा घरमा श्रीमती हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो ? उजुरी अनुसार हुनुहुन्थ्यो,’ सांसद अर्यालले प्रश्न गरिन्, ‘श्रीमती घरमा हुँदा परस्त्रीसँगको प्रेम सम्बन्ध महिला हिंसा होइन ?’

आरोपहरूको आधारमा सुनार जस्तो व्यक्ति राजदूत बन्न निर्देशिकाले समेत नदिने तर्क गर्दै अर्यालले थपिन्, ‘१२ जनाको सुनुवाइ गर्यौं, यस्तो ढंगले कुरा किन उठेनन् ? तपाईंमाथि नियत राखे कि तपाईं नै चुक्नुभयो ?’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले सुनारमाथि परेका उजुरीहरूको फेहरिस्त प्रस्तुत गरेका थिए।

उनले सुनारमाथि महिलासम्बन्धी घरेलु हिंसा र फौजदारी अभियोगमा मिलापत्र गरेको, दलित अभियन्ताको रूपमा करोडौं रकम असुल गरेको, नेपाल प्रहरीको डीआईजीबाट एआईजीमा बढुवा गरिदिने भन्दै रकम लिएको तथा सांसद बनाइदिन्छु भनेर आर्थिक असुली गरेको आरोपबारे जवाफ मागेका थिए।

सांसद चौलागाईंले ‘हाम्रो नेपाल पार्टी’ मा केन्द्रीय सदस्य रहेको दलीय आबद्धता र जर्मनीबाट डिपोर्ट गरिएको विषयबारे समेत प्रश्न गरेका थिए।

सांसदहरूका प्रश्नको जबाफ दिँदै प्रस्तावित राजदूत सुनारले आफू महिला हिंसाविरुद्ध जनचेतना फैलाउने र आत्मरक्षाको तालिम दिने अभियन्ता भएको दाबी गरे।

‘महिला हिंसा गरेको भन्ने प्रश्नका लागि धन्यवाद। म आफैं महिला हिंसाविरुद्ध जनचेतना तालिम दिन्छु,’ उनले भने, ‘महिलाले ‘नो’ भनेपछि ‘नो’ नै बुझेको छु। मैले पाँच हजारभन्दा बढीलाई तालिम दिएको छु।’

आफूले नारी र नवनारी जस्ता पत्रिकामा महिला अधिकार तथा साउदी अरेबिया लगायतका मुलुकमा हुने महिला बेचबिखनका विषयमा खोजमूलक लेख लेखेको समेत उनले बताए।

आफूमाथि आरोप लगाउने महिलासँग सन् २०१३ (१३ वर्षअघि) प्रेम सम्बन्ध रहेको स्वीकार गर्दै उनले लेनदेन र सम्बन्धकै क्रममा फोनमा सामान्य भनाभन भएको प्रस्ट पारे।

‘१३ वर्षअघिको कुरा अहिले निकाल्नुको नियत के हो ? फोनमा भनाभन भएको हो, मैले महिला हिंसा गरेको होइन,’ उनले भने, ‘यदि फोनमा भएको भनाभनलाई महिला हिंसा भनिन्छ भने त्यसमा मेरो आपत्ति छैन।’

ती महिलाले ओशो तपोवनसम्बन्धी विवादमा काठमाडौं जिल्ला अदालतमा मुद्दा हारेपछि आफूमाथि प्रतिशोध साँधेको सुनारको जिकिर थियो।

आफूविरुद्ध कुनै पनि प्रहरी कार्यालयमा जाहेरी दर्ता नभएको, पक्राउ पुर्जी जारी नगरिएको, हत्कडी नलगाइएको र कुनै फौजदारी मुद्दा समेत नरहेको उनले सुनाए।

जर्मनीबाट डिपोर्ट गरिएको आरोप अस्वीकार गरेका सुनारले आफ्नो चरित्रहत्या गरिएका कारण परिवार नै पीडामा परेको बताए।

‘म राजदूत हुन्छु वा हुन्नँ होला, मलाई मान्छे बनेर बाँच्न दिनुहोला। भोलि जागिर खानुपर्ला,’ उनले भने, ‘मेरा वृद्ध बुवाआमा, श्रीमती र बहिनीले यो पीडा कसरी सहनुभएको होला ?’

आफू मासिक ५० देखि ६० हजार रुपैयाँको जागिरबाट घरखर्च चलाइरहेको र दलित तथा गैरदलितबीचको अन्तरजातीय विवाहसम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी) गरिरहेको उनले जानकारी दिए।

आर्थिक अनियमितता र असुलीको आरोपमा चुनौती दिँदै उनले भने, ‘मैले पैसा लिनेदिने गरेको छैन। प्रमाण ल्याउनुस्, म जुनसुकै सजाय भोग्न तयार छु।’

आरोप लगाउने महिलाले एक टेलिभिजनमा अन्तर्वार्ता दिएपछि सामाजिक सञ्जालमा गालीगलौज गरेको र महिला आयोग, केयर नेपाल तथा कुमारी बैंकसँग सम्बन्धित तालिमका काममा अवरोध पर्‍याएको उनको गुनासो थियो।

साथै, काठमाडौं पोस्ट र माइ रिपब्लिकामा आफ्ना लेख प्रकाशन हुन रोकिएको दाबीसमेत उनले गरे।

जवाफका क्रममा उनले विगतमा सुन्दरीजलमा पानी ल्याउने काम गर्दा तत्कालीन सञ्चारकर्मी रवि लामिछानेले आफ्नो अन्तर्वार्ता लिएको स्मरणसमेत गराएका थिए।

प्रकाशित: २८ आश्विन २०८३ १६:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App