राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो जन्मदिनको दिन आफैँलाई कारागार उपहार दिएका छन्। साथै, नवनियुक्त अन्तरिम सरकारसमक्ष देशको प्रणालीगत सुधारका लागि पाँच-बुँदे चुनौती प्रस्तुत गरेका छन्।
शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले हालै आफूलाई कारागारबाट निकालिएको प्रक्रियाको सम्पूर्ण नैतिक जिम्मेवारी आफैँले लिने र कुनै पनि कर्मचारीलाई अप्ठ्यारोमा पर्न नदिने भन्दै पुनः कारागार फर्किन लागेको बताए।
‘संयोगले आज मेरो जन्मदिन परेछ। र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरि कारागारमा पठाउँदैछु,’ लामिछानेले भने, ‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशासहित म कारागार जाँदैछु।’
कारागार जानुअघि लामिछानेले अन्तरिम सरकार सफल भए मात्र जेन-जी को बलिदान सार्थक हुने बताउँदै देशमा आमूल परिवर्तनका लागि पाँच-बुँदे माग अघि सारेका छन्। उनले यी मागहरूलाई ‘रावणका अलगअलग टाउका’ को संज्ञा दिँदै एउटा पनि बचेमा परिवर्तन असम्भव हुने बताए।
यस्ता छन् रविका मागहरु
-२०४६ सालपछिका सबै नीतिगत निर्णय र उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्नुपर्ने।
-सबै निकायमा गरिएका राजनीतिक नियुक्तिहरू एकैपटक रद्द गर्नुपर्ने
-कर्मचारीदेखि न्यायाधीशसम्मको पुनर्नियुक्तिको बाटो खोल्दै सुब्बादेखि न्यायाधीशसम्मले फेरि परीक्षा दिनुपर्ने।
-विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति खारेज गरी विज्ञता र योग्यता (मेरिटोक्रेसी) स्थापित गर्नुपर्ने।
-राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागू हुनुपर्ने।
लामिछानेले जेन-जी आन्दोलनमा भएको दमन र हिंसा दुवै पक्षको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए। ‘बच्चाका टाउकोमा ताकी ताकी गोली हान्ने गृहमन्त्री, प्रधानमन्त्रीहरु कारबाहीको दायरामा तत्काल आउनुपर्छ,’ उनले भने, ‘देशका संरचनाहरूमा ताकीताकी आगो झोस्नेहरू पनि तत्काल कारबाहीको दायरामा आउनुपर्छ।’
उनले आफ्ना पार्टीका सहकर्मीहरूलाई समेत स्वतन्त्रतापूर्वक अघि बढ्न र पार्टीलाई कब्जा गर्ने नभई बनाउनेतिर लाग्न आग्रह गरे।
प्रकाशित: २८ भाद्र २०८२ १७:३८ शनिबार



-600x400.jpg)
