राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले केही नेताहरूले पार्टी छाड्दैमा संगठन कमजोर नहुने बताएका छन्।
शनिबार रास्वपाको गोदावरी नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी छाडेर जानेप्रति लक्षित गर्दै भने- ‘एकजना जान्छन्, सयजना आउँछन्।’
हालै पार्टीका प्रमुख सचेतक सन्तोष परियार र नेतृ सुमाना श्रेष्ठले पार्टी परित्याग गरेको सन्दर्भमा श्रेष्ठको यस्तो भनाइ आएको हो।
उनले पार्टी छाड्नेहरूको चिन्ता गर्नुभन्दा पनि नयाँ प्रवेश गर्नेहरूको लहरले पार्टीप्रतिको विश्वास झनै बढेको बताए।
‘आज यहाँ धेरै साथीहरूको चिन्ता हिजो को जानुभयो, अस्ति को जानुभयो भन्ने छ,’ श्रेष्ठले भने, ‘तर मैले के याद गरेँ भने, एकजना जान्छन्, सयजना आउँछन्।’ उनले पार्टी प्रवेश कार्यक्रमहरूमा देखिएको उत्साहले यही कुरा पुष्टि गरेको दाबी गरे।
उनले रास्वपाप्रति जनताको विश्वास र सभापति रवि लामिछानेले देखेको सपनाप्रति आकर्षण कायमै रहेको बताए।
श्रेष्ठले ललितपुर जिल्ला कमिटीलाई रास्वपाको एक विशिष्ट र विशेष टिमको संज्ञा दिँदै प्रशंसा गरे।
उनले भने, ‘ललितपुर टिम पार्टीलाई कहिल्यै अप्ठ्यारो पर्दा केही नभनी, आफ्नो आग्रह-पूर्वाग्रह नराखी आफैं टिसर्ट बनाएर पोखरा पनि पुग्दिने, रुपन्देही पनि पुग्दिने। कसैलाई कुरेर बस्दैन।’
उनले ललितपुर जिल्ला कमिटीले सामूहिक नेतृत्वको भावना देखाएको र यो अन्य जिल्लाका लागि पनि अनुकरणीय रहेको बताए। ‘सामूहिक नेतृत्व कसरी गर्नुपर्छ भन्ने भावना ललितपुर जिल्ला कमिटीले बाँकी ७६ जिल्लालाई पनि मार्गदर्शन गर्न सक्छ जस्तो लाग्छ,’ उनले भने।
श्रेष्ठले पार्टी नयाँ भएको र सबैजना सिक्दै अघि बढिरहेको उल्लेख गर्दै भने, ‘पार्टी त नयाँ छ नि साथीहरू, बामे सर्दै गरेको पार्टी हो। को चाहिँ यहाँ पीएचडी गरेर पार्टी चलाउन आएको हो र ? गर्दै, लड्दै, सिक्दै अगाडि जाने त हो नि।’
प्रकाशित: २९ कार्तिक २०८२ १७:५२ शनिबार





