कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना गुरुङले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे स्पष्टीकरण दिएकी छन्। भिडियोमा केही व्यक्तिहरूले उनलाई घेरा हालेर बाहिर निकालिरहेको दृश्य देखिएपछि विभिन्न टिप्पणीहरू आएपछि उनले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
गुरुङले सबै आमाबुवा, दाजुभाइ, दिदीबहिनीलाई सम्बोधन गर्दै उक्त भिडियोको अगाडि–पछाडिको वास्तविक परिस्थिति स्पष्ट नभएकाले सामाजिक सञ्जालमा 'महारानी शैली, चटक, नौटंकी' जस्ता टिप्पणीहरू आएको बताइन्। उनले यस्तो तामझामलाई आफूले पनि स्वाभाविक नठानेको उल्लेख गर्दै त्यसबेला भएको परिस्थितिका कारण उक्त दृश्य बनेको स्पष्ट पारेकी छन्।
उनका अनुसार फागुन २७ गते कास्की जिल्ला कमिटीले सृजनाचोकस्थित ह्वाइटहाउस पार्टी प्यालेसमा कास्की क्षेत्र नम्बर १, २ र ३ का प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूलाई शुभकामना तथा मतदातालाई धन्यवाद दिने कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम सुरु हुन ढिलाइ भएपछि उनीहरूको काठमाडौं फर्किने उडानको समय नजिकिएको थियो।
बुद्ध एयरले उडानको समय ४:५० बाट ३:४० मा सारिएको जानकारी दिएपछि उनी हतारमा कार्यक्रमबाट बाहिरिनुपरेको गुरुङले बताइन्। त्यस क्रममा शुभचिन्तकहरूले खादा लगाउने र फोटो खिच्ने भीड बढेपछि उनी स्वयंले छिटो निस्कन आग्रह गर्दै बाहिरिन खोजेकी थिइन्।
उनका अनुसार स्वयंसेवकहरूको सहयोगमा बाहिर निस्कने क्रममा केही व्यक्तिहरूले घेरा बनाएर उनलाई गाडीसम्म पुर्याएका थिए। पछि भिडियो हेर्दा त्यो दृश्य आफूलाई पनि अस्वाभाविक लागेको उनले बताइन्। 'मैले कसैसँग सुरक्षा दिनुस् भनेर अनुरोध गरेको थिइनँ, र जसले घेरा हालेर सहयोग गर्नुभयो उहाँहरूलाई धन्यवाद दिन चाहन्छु,' उनले भनिन्।
गुरुङले उक्त भिडियोले आफूलाई व्यक्तिगत रूपमा विचलित नबनाएको बताउँदै कास्की क्षेत्र नम्बर ३ का मतदाताले भिडियो हेर्दा मनमा चोट लागेको हुनसक्ने विषय भने आफ्नो चिन्ताको कारण भएको उल्लेख गरिन्। उनले आफू क्षेत्रका नागरिकको सुखदुःखको सारथि बन्न, आँसु पुछ्न र समग्र विकासका लागि पहरेदार बन्न आएको बताउँदै भिडियोमा देखिएजस्तो सुरक्षा र तामझाम आफूलाई कहिल्यै आवश्यक नपर्ने स्पष्ट पारिन्।
'म सधैं नागरिकको आवाज बोकेर हिँड्नेछु। मेरो सुरक्षा नागरिकले नै गर्नेछन् भन्नेमा मेरो विश्वास छ,' उनले भनिन्।
प्रकाशित: ३० फाल्गुन २०८२ ०८:४४ शनिबार





-600x400.jpg)