२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

ठूला उद्योग स्थापना हुँदा रोजगारी र राजस्व बढ्छ : मुख्यमन्त्री सिंह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको मंगलबार अवलोकन र निरीक्षण गरेका छन्।  

जिल्लाको राजविराज नगरपालिका–९ स्थित मलेठ र रुपनी गाउँपालिकाको सिमानामा रहेको औद्योगिक क्षेत्रको अवलोकन गर्दै उनले त्यसको अवस्थाबारे जानकारी लिएका हुन्। 

विसं २०४४ मा स्थापना भएको औद्योगिक क्षेत्रमा हाल १२ वटा उद्योग संचालनमा छन् भने थप उद्योग स्थापना तयारी भइरहेको जानकारी दिइएको थियो। 

मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रमा ढल निकास, खानेपानीलगायत आधारभूत पूर्वाधारका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० लाख विनियोजन गरिसकेको बताए। उनले यहाँको सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्न पहल भइरहेको जानकारी दिए।  

मुख्यमन्त्री सिंहले औद्योगिक क्षेत्रमा ठूलो उद्योग स्थापनाको प्रचुर सम्भावना रहेकाले यसका लागि प्रदेश सरकारले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘ठूलो उद्योग स्थापना भए रोजगारीका अवसर सृजना हुनुका साथै राजस्व संकलनमा वृद्धि भई स्थानीय, प्रदेश र राष्ट्रिय आर्थिक विकासमा टेवा पुग्नेछ,’ उनले भने, ‘यसैकारण प्रदेश सरकार यहाँको समग्र विकासका लागि प्रतिबद्ध छ। उद्योगपतिलाई यहाँ लगानी गर्न निरन्तर आग्रह गरिरहेका छौं।’  

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कायममुकायम प्रमुख मनिषकुमार मिश्र र उद्योगी मिलन सिंहले मुख्यमन्त्री सिंहसमक्ष औद्योगिक क्षेत्रको वर्तमान अवस्था र विद्यमान समस्याबारे जानकारी गराएका थिए।

प्रकाशित: २८ श्रावण २०८२ ०७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App