आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं-२ का स्वतन्त्र उम्मेदवार डा. निकोलस (कमल) भुसालले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
‘देशको आशा युवाको भरोसा’ मूल नारा र जेनजीको जुत्ता चुनाव चिह्न लिएर चुनावी मैदानमा होमिएका डा. भुसालले राजनीतिक, आर्थिक र स्थानीय पूर्वाधार विकासका महत्त्वाकांक्षी योजनाहरू अघि सारेका छन्।
देशलाई सामाजिक र आर्थिक रूपमा सम्पन्न हरित स्वर्गका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य बोकेका उनले शिक्षा, स्वास्थ्य र रोजगारलाई प्रमुख एजेन्डा बनाएका छन्।
डा. भुसालले आफ्नो नीतिगत अवधारणामा विद्यमान प्रदेश संरचनालाई खारेज गर्नुपर्ने साहसिक एजेन्डा अघि सारेका छन्। नेपाललाई वैदिक सनातन हिन्दु, बुद्ध, किरात राष्ट्रका रूपमा चिनाउने उनको योजना छ।
शिक्षा, स्वास्थ्य, न्याय, सुरक्षा, खानेपानी र बिजुली जस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ण रूपमा सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने उनको प्रमुख एजेन्डा रहेको छ।
साथै, देशभरका लाखौं नागरिकलाई पिरोलिरहेको सहकारी, लघुवित्त र मिटरब्याज पीडितहरूको पैसा फिर्ता गराउन दबाब दिने प्रतिबद्धता उनले जनाएका छन्।
रुपन्देही क्षेत्र नं-२ का मतदाताका प्रत्यक्ष सरोकारका विषयलाई उनले स्थानीय योजनाअन्तर्गत समेटेका छन्।
डा. भुसालले रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य राखेका छन्। नेपालको जल, जंगल, जमिन र जडीबुटीलाई वैधानिक रूपमा प्रयोग गरी आर्थिक क्रान्ति गर्ने र हरेक नेपालीलाई करोडपति बनाउने उनको दाबी छ।
त्यस्तै, एक वर्षभित्र १ करोड पर्यटक नेपाल भित्र्याउने योजना पनि उनले समेटेका छन्।
छाडा चौपायाका कारण सडकमा देखिएको समस्या समाधान गर्न शिवनगर, तिलोत्तमा, बोलबम र देवदहका गौशालाहरूको स्तरोन्नति गर्ने उम्मेदवार भुसालको प्रतिबद्धता छ।
साथै, रगत नपाए बुटवल जानू भन्ने अभियानलाई सार्थक बनाउने र सर्प, गाई तथा कुकुरको आपतकालीन उद्धारका लागि इमर्जेन्सी रेस्क्यु टिमसहितको अस्पताल व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ।
बस, ट्रक, ट्याक्सी र रिक्सा चालकहरूलाई सम्मानित पेसाका रूपमा विकास गर्दै उनीहरूलाई सुविधा दिने नीतिसमेत उनले अघि सारेका छन्।
परम्परागत राजनीतिभन्दा फरक देखिन खोजेका डा. भुसालले राष्ट्रिय गौरवका योजनाअन्तर्गत केही नौला र दूरगामी अवधारणाहरू प्रस्तुत गरेका छन्।
जसमा देशको सर्वोच्च अदालतलाई ऐतिहासिक स्थल गोरखामा सार्ने, संसद् भवनलाई जनकपुरमा राख्ने र हिमाली क्षेत्रमा विश्वको उच्च रंगशाला निर्माण गर्ने जस्ता योजनाहरू समावेश छन्।
प्रकाशित: १२ फाल्गुन २०८२ २०:४५ मंगलबार





