१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

ओलीबारे भीम रावलको टिप्पणी: भन्छन्-चरित्र छर्लङ्ग भयो होला नि !

प्रधानमन्त्रीको अभिव्यक्तिलाई कसरी बुझे भीम रावल ?

भीम रावल । फाइल तस्बिर

नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति चित्त नबुझ्दो रहेको भन्दै आफ्ना धारणा सार्वजनिक गरेका छन् ।  

सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा राख्दै रावलले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिको निष्कर्ष चिन्तन मनन गर्ने कि?’

रावलले लेखेका छन्, ‘यही भदौ ११ गते प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको एउटा पार्टी भेलामा प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरूलाई गम्भीर रूपमा विश्लेषण गर्दा कस्तो निष्कर्ष निस्किन्छ सबैले चिन्तन मनन गर्ने कि ?’

उनले ओलीको असीमित सत्ता लिप्सा, निरङ्कुश र तानाशाह चरित्र पुन: छर्लङ्ग भएको बताएका छन् । रावल लेख्छन्, ‘भेलामा आफूलाई पार्टीको अपरिहार्य अध्यक्षको रुपमा प्रस्तुत गर्दै विद्या भण्डारीलाई 'अनुभवहीन' र 'लालगेडी' जस्ता होच्याउने विशेषण प्रयोग गरी आलोचना गरिएछ । महाधिवेशनमा प्रतिस्पर्धा गरे पराजित हुने घोषणा गरिनुका साथै पार्टीमा अध्यक्ष हुने प्रयास गरिएमा 'भीम रावलको जस्तो हालत हुने धम्की समेत दिइएछ । यसबाट केपी ओलीको असीमित सत्ता लिप्सा, निरङ्कुश र तानाशाही चरित्र पुनः छर्लङ्ग हुँदैन र ?’

आफू केपी ओलीसँग किन प्रतिस्पर्धामा उत्रिएको थिएँ भन्ने विषयमा पनि उनले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले ओलीले नै आफूलाई जनताको बहुदलीय जनवादका विषयमा राखेको फरक मतले स्पष्टीकरण सोधिएको प्रष्टिएको पनि बताएका छन् ।  

उनले भनेका छन्, ‘मैले जनताको बहुदलीय जनवादको मान्यता अनुरुप दशौं महाधिवेशनमा विधि र प्रणाली अनुसार काम र सबै प्रतिनिधिहरुलाई चाहेको पदमा प्रतिस्पर्धा गर्न दिनुपर्छ भन्ने मान्यतामा दृढतापूर्वक उभिएर अध्यक्ष पदमा उम्मेदवारी दिएको थिएँ। त्यसरी उम्मेदवारी दिएको तथा धारणा र विचार उक्त मान्यता अनुरूप राखेको कारणले नै मलाई कथित स्पष्टीकरण सोधिएको र मैले पार्टीबाट बाहिरिनु परेको तथ्य स्वयं केपीबाट नै बालुवाटारमा स्वीकार गरिएको छ । यसबाट मैले सिद्धान्त, विधि र प्रणालीको पक्षमा उभिएर पार्टी सुमार्गमा जानुपर्छ भन्दा त्यसलाई व्यक्तिगत स्वार्थ र झगडाको रुपमा लिनेहरुले केपी ओलीका उक्त भनाइबाट पार्टी र देशको दीर्घकालीन हितमा केन्द्रित मेरा धारणा, विचार र अडान केपीको असीमित सत्ता लिप्सा र अहमको कारण सह्य र स्वीकार्य नभएको सत्य, तथ्य अब त सबैलाई प्रष्ट भयो होला नि?’

रावल भन्छन्, ‘सत्ता स्वार्थको लागि जस्तोसुकै मित्र र पक्षधर माथि पनि छुरी चलाउन केपी ओली उद्धत हुनसक्ने यथार्थ छर्लङ्ग भयो होला नि ?’

प्रकाशित: १२ भाद्र २०८२ २१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App