काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले ऐतिहासिक भद्रकाली मन्दिर परिसरको मौलिक परम्परागत (नेवारी) शिल्प र शैलीमा पुनरुत्थान कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्।
बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले महानगरको सम्पदा विभागको इतिहासकै सबैभन्दा ठूलो परियोजनाको रूपमा रहेको यस योजनाको भौतिक प्रगति करिब ५० प्रतिशत पुगिसकेको बताए।
मेयर शाहका अनुसार २०७२ सालको भूकम्पले जीर्ण बनेका मन्दिर परिसरका पाटी, सत्तल लगायतका संरचनाहरूको पुनर्निर्माण चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ दैनिक दुई सिफ्टमा काम भइरहेको छ।
मेयर शाहका अनुसार, निर्माणमा सिमेन्ट र रडको प्रयोग गरिएको छैन, केवल परम्परागत चुना–सुर्की प्रयोग गरिएको छ। नेपाली सालको काठ, कुँदिएका बुट्टेदार झ्याल, ढोका, थाम र छानामा झिँगटी प्रयोग गरी मन्दिरलाई मौलिक नेवारी स्वरूप दिइँदैछ।
‘पुरानो खम्बा र बुट्टाका ढाँचालाई आधार मानेर नयाँ बुट्टा कुँदिएका छन्,’ शाहले लेखेका छन्, ‘साथै भंगेरा बस्ने परम्परागत चखुं प्वाः पनि राखिएका छन्।’
निर्माणमा प्रयोग भएका काठ तथा इँटाको गुणस्तर पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्रयोगशालामा परीक्षण गरिएको समेत उनले जानकारी दिए।
‘यो परियोजना निर्माण सम्पन्न भएपछि महानगरपालिकासँगै नेपालकै पहिचानयुक्त स्मारक हुनेछ,’ मेयर शाहले विश्वास व्यक्त गर्दै भने, ‘हामी यस्ता स्मारकसँगै काठमाडौंको सांस्कृतिक सभ्यतालाई पुनरुत्थान गरिरहेछौँ।’
२०८१ जेठ ६ गते निर्माण पक्षसँग सम्झौता भई असार ४ गतेबाट कार्य प्रारम्भ भएको यो परियोजनाको डिजाइन महानगरको सहरी योजना आयोग र सम्पदा विभागले तयार पारेको हो।
प्रकाशित: २३ आश्विन २०८२ १८:५२ बिहीबार





