नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने बाटोमा अघि बढेको भन्दै आन्दोलनका लागि जुर्मुराउन सिंगो पार्टी पंक्तिलाई आह्वान गरेका छन्।
नेकपा उपत्यका प्रदेश समितिले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक दाहालले सरकारविरुद्ध खरो रूपमा उत्रिनुपर्ने बेला आएको बताए।
‘यो सरकार सुशासन र विकासको निम्ति होइन, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत महिला, दलित, आदिवासी, जनजातिले पाएका अधिकार खोस्ने दिशातिर अगाडि बढ्दैछ,’ उनले भने, ‘खबरदार ! तपाईं हामी सबै एकचोटी जुर्मुराउनुपर्ने अवस्था आइलागेको छ।’
सरकारले सुकुम्वासी बस्ती हटाउने, विद्यार्थी युनियन खारेज गर्ने, ट्रेड युनियनका अधिकार खोस्ने र देशको सिमानाका विषयमा जथाभावी बोल्ने काम गरिरहेको उनले आरोप लगाए। सरकार गलत बाटोमा गएकाले आफूले सदनमा आवाज उठाएको स्मरण गराउँदै उनले अब संसदमा सरकारको भण्डाफोर गर्न धेरै विषयवस्तु तयार भइसकेको चेतावनी दिए।
कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएका अध्यक्ष दाहालले विगतमा आफूहरूबाट विचार र रणनीति भुल्ने गल्ती भएको पनि स्वीकारेका छन्। वर्ग संघर्षलाई बेवास्ता गर्दै दिनदिनको कार्यनीतिमा रमाउँदा पार्टी बिग्रिएको उनको भनाइ छ।
विगतका भूलबाट शिक्षा लिएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले भने, ‘हामी बिग्रियौं, त्यसको मुख्य जिम्मेवारी मैले लिनुपर्छ। अरूलाई भनेर सुख पाउँदिनँ, किनभने तीन चोटी प्रधानमन्त्री म आफैँ भइसकेको छु। हैरान भएर कहिलेकाहीँ त सबै मिलेर मलाई छिटो हटाइदिनुस् न भन्न पनि मन लाग्छ।’
प्रकाशित: २१ असार २०८३ १६:४९ आइतबार





