नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ। कांग्रेस नेता मोहनबहादुर बस्नेतले पार्टी सभापति गगन थापालाई साउन २८ गतेसम्म निकास दिन समयसीमा दिँदै त्यसपछि पार्टीले नयाँ कार्यदिशा तय गर्ने चेतावनी दिएका छन्।
सोमबार नेपाली कांग्रेस सिन्धु–काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले पार्टीलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउन नेतृत्वले तत्काल निकास दिनुपर्ने बताए।
उनले निर्धारित समयभित्र उपयुक्त निकास नआए साउन २९ गतेदेखि नयाँ कार्यदिशा तय गर्ने बताए। मुलुकमा बढ्दै गएको निरंकुश प्रवृत्तिलाई रोक्न र देशको भविष्य सुनिश्चित गर्न कांग्रेसलाई बलियो शक्तिका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ थियो।
‘मुलुकको भविष्य हाँक्न, सबै राजनीतिक शक्तिलाई एकताबद्ध गर्दै देशलाई निकास दिन र बढ्दै गएको निरंकुश प्रवृत्तिलाई रोक्न सक्षम कांग्रेस निर्माण गर्नुपर्छ। यदि २८ गतेसम्म गगन थापाजीले निकास दिनुभएन भने त्यसपछि पार्टीले नयाँ कार्यदिशा पनि लिन सक्छ, त्यो २९ गतेबाट सुरुवात हुन्छ,’ बस्नेतले भने।
उनले कांग्रेसको संगठन सुदृढीकरणका लागि देशभरका युवा कार्यकर्तालाई आ–आफ्ना जिल्लामा एकीकृत भएर अभियान सञ्चालन गर्नसमेत आह्वान गरे।
‘मरणासन्न अवस्थामा पुगेको कांग्रेसलाई पुनर्जीवित गर्दै बलियो, सशक्त, जाँगरिलो र ठूलो कांग्रेस निर्माण गर्नु आजको आवश्यकता हो,’ उनले भने।
बस्नेतले आफूहरू कांग्रेस विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै पार्टीलाई अझ बलियो र एकताबद्ध बनाउन नेताहरू देशभर सक्रिय भइरहेको दाबी गरे।
यसैबीच कांग्रेस नेता नारायणप्रकाश (एनपी) साउदले पार्टीभित्र विशेष अधिवेशनको माग गरिरहेका नेताहरूलाई पार्टी विभाजनको बाटोमा नजान आग्रह गरेका छन्।
सोही कार्यक्रममा बोल्दै साउदले आन्तरिक मतभेद बिर्सेर पार्टी एकतामा जोड दिनुपर्ने बताए। उनले सर्वोच्च अदालतको पछिल्लो निर्णयले विशेष अधिवेशनको माग गरिरहेका नेताहरूलाई ‘सुध्रिने अवसर’ दिएको दाबी गरे।
उनले वर्तमान केन्द्रीय समितिकै आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्न सहयोग गरे मात्र पार्टी एकताबद्ध रहने धारणा राखे।
‘अदालतको पछिल्लो निर्णयले विशेष अधिवेशनको माग गर्ने साथीहरूलाई सच्चिने एउटा ठूलो अवसर दिएको छ। अब १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनतर्फ लाग्नुपर्छ,’ साउदले भने।
असन्तुष्ट पक्षलाई लक्षित गर्दै उनले पार्टी विभाजन हुने गरी अघि नबढ्न आग्रह गरे। ‘तपाईंहरूले गर्ने भनिएको १५औँ महाधिवेशन विभाजनको महाधिवेशन हुनेछ। हामी एकताको १५औँ महाधिवेशन चाहन्छौँ। त्यसैले पार्टी तोड्नेजस्तो अन्तिम गल्ती नगर्नुस्,’ उनले भने।
साउदका अनुसार पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्कनेछन्। त्यसपछि साउन २९ गते बस्ने भेलाबाट पार्टीले नयाँ कार्यदिशा र दृष्टिकोण तय गर्ने तयारी रहेको उनले बताए।
प्रकाशित: २५ श्रावण २०८३ १७:३५ सोमबार





-600x400.jpg)