२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

सञ्जालमाथिको प्रतिबन्ध लगाउनु मूर्खतापूर्ण हर्कत: डा. भट्टराई

फाइल।

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले  दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक र अदूरदर्शी भएको बताएका छन्।

बिहीबार सरकारले उक्त निर्णय गरेसँगै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो लहडी कदमले जनताको मौलिक हकलाई कुण्ठित गर्ने बताए।

डा. भट्टराईले अहिलेको सूचना र सञ्चारको युगमा नियमनका अन्य उपयुक्त उपायहरू हुँदाहुँदै आवेगात्मक र मन्त्रीस्तरीय निर्णयबाट प्रतिबन्ध लगाइनु गलत भएको धारणा राखे।

‘सामाजिक संजाल प्लाटफर्महरूलाई आवेगात्मक ढंगले मन्त्रीस्तरीय निर्णयद्वारा बन्द गरिनु सरकारको अलोकतान्त्रिक, अदूरदर्शी र प्रतिगमनकारी कदम हो,’ उनले लेखेका छन्।

डा. बाबुराम भट्टराईले यो कदमले जनताको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हकसमेत खोसिएको टिप्पणी गरे। सरकारको यस्तो कदमलाई उनले ‘मूर्खतापूर्ण हर्कत’ को संज्ञा दिँदै निन्दा गरे ।

‘आफ्नै आँखामा पट्टी बाँधेर सूर्यलाई छेक्न खोज्ने सरकारको यस्तो मूर्खतापूर्ण हर्कत निन्दनीय छ,’ डा. भट्टराईले भने।

प्रकाशित: १९ भाद्र २०८२ २१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App