१ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

वामदेवको समाजवादी खाका: १६ वर्षे किशोरदेखि ९० वर्षे वृद्धसम्म, सबैलाई रोजगारीको ग्यारेन्टी

फाइल।

नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले देशको सबैभन्दा ठूलो समस्याको रूपमा रहेको बेरोजगारीलाई जरैदेखि उन्मूलन गर्ने समाजवादी मोडेल प्रस्तुत गरेका छन्।

उनले आफ्नो परिकल्पनाको समाजवादमा १६ वर्ष उमेर पुगेका किशोरकिशोरीदेखि काम गर्न सक्षम ९० वर्षका वृद्धवृद्धासम्म सबै नागरिकलाई रोजगारीको पूर्ण ग्यारेन्टी गरिने घोषणा गरे।

पार्टी पुनर्गठन दिवसको अवसरमा आयोजित कार्यक्रममा आफ्नो समाजवादी दृष्टिकोण प्रस्तुत गर्दै नेता गौतमले भने, ‘हाम्रो समाजवादमा कुनै पनि व्यक्ति फाल्तु बस्ने छैन, हरेक व्यक्तिले काम पाउनेछ। १६ वर्ष उमेर पुगेका र काम गर्न सक्छु भन्ने ९० वर्षका नागरिकले पनि काम पाउनेछन् र ज्यालादारी गरेर आफ्नो जीवन चलाउनेछन्। त्यो हो समाजवाद।’

नेता गौतमका अनुसार, यो महत्वाकांक्षी योजना देशमा उपलब्ध जमिन र प्राकृतिक स्रोतको सामूहिक उपयोगबाट सम्भव हुनेछ। उनले भने, ‘हामीसँग भएको जमिन र स्रोतलाई सामूहिक उत्पादनमा लगाउँछौं। त्यसबाट हामी हाम्रो देशलाई विकास गर्न कति पैसा चाहिन्छ, त्यो सिर्जना गर्छौं।’

उनले देशलाई १० वर्षभित्र युरोपेली स्तरमा पुऱ्याउने लक्ष्य राख्नुपर्ने बताउँदै त्यसका लागि आवश्यक पर्ने आर्थिक स्रोत देशभित्रैबाट जुटाउन सकिने दाबी गरे।

‘कसरी खाने, कसरी बोल्ने, कसरी नाच्ने, कसरी हिँड्ने, सबै कुराको व्यवस्था युरोपमा कस्तो छ, हामीले त्यो स्तरमा पुग्नुपर्छ र त्यो अनुसारको योजना अहिले नै बन्नुपर्छ,’ उनले भने।

प्रकाशित: ९ भाद्र २०८२ १५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App