नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम ले जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्तीलाई सम्पूर्ण कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्न आह्वान गरेका छन्।
शनिबार जारी शुभकामना तथा श्रद्धाञ्जलि सन्देशमा गौतमले मदन भण्डारी र जीवराज आश्रित को मृत्यु प्रकरणमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई न्याय सुनिश्चित गर्ने प्रतिबद्धतासहित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने सङ्कल्प गर्नुपर्ने बताएका छन्।
उनले मदन भण्डारीलाई नेपाली कम्युनिस्ट आन्दोलनका महानायक तथा पुष्पलाल श्रेष्ठ का सच्चा उत्तराधिकारीका रूपमा उल्लेख गरेका छन्।
गौतमले २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनालाई हत्या भएको दाबी गर्दै घटनाका दोषी अहिलेसम्म कानुनी प्रक्रियामा नआएको टिप्पणी गरेका छन्।
उनका अनुसार मदन भण्डारीको ७५औँ जन्मजयन्ती केवल स्मरणको अवसर मात्र नभई दुवै नेताप्रति न्याय सुनिश्चित गर्ने, आन्दोलनभित्रको विभाजन अन्त्य गर्ने र कम्युनिस्ट शक्तिलाई साझा उद्देश्यमा जोड्ने नयाँ राजनीतिक सङ्कल्प गर्ने अवसरका रूपमा लिनुपर्छ।
प्रकाशित: १४ असार २०८३ २०:२७ आइतबार





