राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले मधेसको दूरदेहातका मतदातामा लहर ल्याउन हुलाकी राजमार्ग केन्द्रित 'रोड सो' गरेका छन्। जस अन्तर्गत उनले मधेस प्रदेशको पूर्वी सीमा जिल्ला सप्तरीको राजबिराज पुगेर गाडीबाटै हात हल्लाउँदै फर्किएका छन्।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी उनी राजविराज आएका थिए। नेता–कार्यकर्ता र समर्थक एकाबिहानैदेखि राजविराजमा पर्खिरहँदासमेत बालेन्द्र गाडीबाट ओर्लिएनन्।
गजेन्द्र चोक आउँदा उनले स्वर्गीय नेता गजेन्द्रनारायण सिंह (गजेन्द्र बाबु)को शालिकमा समेत माला फ्याकेर हिँडे। उनी माल्यार्पन गर्न गाडीबाट नओर्लिएपछि नेता–कार्यकर्ता र समर्थक हेरेको–हेर्यै भए।

गजेन्द्र नारायण सिंहको सालिकमा माल्यार्पण गरेर छेउमै रहेको पार्टी कार्यालय पुग्ने कार्यक्रम रहे पनि बालेन्द्र पार्टी कार्यालय अगाडिबाटै गाडी नरोकी हिँडेका थिए।
राजबिराजकै एक होटलमा खाना खाइरहँदा पुनः फर्किएर पार्टी कार्यालय र गजेन्द्रनारायण सिंहको सालिकमा माल्यार्पण गर्छन् कि ठानेर नेता–कार्यकर्ता र समर्थकहरू एक घण्टाभन्दा बढी त्यहाँ पर्खेका थिए। तर, खाना खाएर उनी हुलाकी सडक हुँदै पश्चिमतर्फ लाग्दा नेता–कार्यकर्ता र समर्थक निरास भएर फर्किएका थिए। उनले गजेन्द्र बाबुको सालिकमा माला फ्याकेको विषय आलोचित र भिडियो समाजिक सञ्जालमा भाइरल बनेको छ।
बालेन्द्र सिरहा हुँदै कमला नदीको भत्केको पुल छेउबाट बनाइएको डाइभर्सनको बाटो धनुषा जाँदै छ्न। उनी हुलाकी मार्गबाट मधेस प्रदेशको पश्चिमी सीमा जिल्ला पर्सासम्म पुग्ने कार्यक्रम रहेको राश्वपाले जनाएको छ।

प्रकाशित: २७ माघ २०८२ १४:२६ मंगलबार





