प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिस्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन्द्र शाहले निर्वाचन आयोगमा आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन्। आयोगमा बुझाइएको विवरणअनुसार उनले प्रचारप्रसार तथा निर्वाचन व्यवस्थापनका विभिन्न शीर्षकमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेका छन्।
आयोगलाई पेश गरिएको खर्च विवरणमा सार्वजनिक सवारी साधन भाडा, हवाई यात्रा, मतदाता प्रशिक्षण कार्यक्रम, वडा-स्तरीय प्रचार कार्यक्रम, चुनावी कार्यालय सञ्चालन, प्रचार सामग्री उत्पादन तथा मनोनयन शुल्कलगायत शीर्षकमा खर्च देखाइएको छ।
१५ दिन दुई वटा सवारीसाधनको लागि २ लाख ९३ हजार र हवाइ भाडा खर्च पाँच पटकको लागि ३५ हजार भएको विवरण पेश गरिएको छ। मतदाता प्रशिक्षण कार्यक्रम सञ्चालनमा ५८ जना सहभागी गराई २८ हजार ९ सय ७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ।
यसैगरी वडा–स्तरीय प्रचार कार्यक्रम (घरदैलो अभियान) सञ्चालनका लागि २९ वडामा ५ लाख ८० हजार रुपैयाँ खर्च गरिएको जनाइएको छ। निर्वाचन प्रचारका लागि अस्थायी कार्यालय सञ्चालनतर्फ २ महिनाको अवधिमा पानी तथा अन्य व्यवस्थापनमा १ लाख २० हजार रुपैयाँ खर्च भएको छ भने स्टेशनरी तथा प्रशासनिक सामग्रीमा २२ हजार ८ सय २० रुपैयाँ खर्च भएको देखाइएको छ।
त्यस्तै प्रचारप्रसार सामग्री उत्पादनतर्फ फ्लेक्स, पम्प्लेट तथा ब्यानर छपाइमा १ लाख ५७ हजार रुपैयाँ र स्टिकर तथा अन्य प्रचार सामग्रीमा करिब १ लाख १९ हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ। उम्मेदवारी मनोनयन दर्ता शुल्कका रूपमा १० हजार रुपैयाँ तिरेको विवरणमा जनाइएको छ।
सबै शीर्षक जोड्दा उम्मेदवार बालेनले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च गरेको विवरण आयोगमा पेश गरेका हुन्।
निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र आफ्नो आय–व्ययको विस्तृत विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ।
प्रकाशित: २५ फाल्गुन २०८२ १३:२८ सोमबार





-600x400.jpg)