बागमती प्रदेशसभाको आजको बैठकले प्रदेश विनियोजन विधेयक २०८३ र प्रदेश आर्थिक विधेयक २०८३ लाई बहुमतले पारित गरेको छ। बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले प्रदेश विनियोजन विधेयक २०८३ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।
प्रदेशसभाका सदस्यहरू क्रमशः ईश्वर सापकोटा, श्रृजना सैजु र रत्नप्रसाद ढकालले सरकारको आर्थिक वर्ष २०८३।८४ को वार्षिक बजेटमा ल्याइएको रकमको खर्च कटौती गरियोस् भनी ल्याइएको प्रस्तावलाई सो बैठकको बहुमतले अस्वीकृत गर्यो।
साथै बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री तामाङले प्रदेश आर्थिक विधेयक २०८३ माथि विचार गरियोस् भनी प्रस्ताव पेस गरे । प्रदेश आर्थिक विधेयक २०८३ को सैद्धान्तिक पक्षमा मात्र छलफल गरिएको थियो।
विधेयकमाथि श्रृजना सैजु, रत्नप्रसाद ढकाल र नुरज बज्राचार्यले छलफलमा सहभागी हुँदै सरकारले यातायात क्षेत्रका उपभोक्ताहरूलाई लाइन्सेस नवीकरण लगायत अन्य सेवा लिन बढी करको भार थपिने भएकाले सो प्रक्रियालाई संशोधन हुनुपर्ने सुझाव दिए।
त्यस अवसरमा मन्त्री तामाङले छलफलमा उठेको प्रश्नहरूको जवाफ दिदैँ राज्य सञ्चालन गर्न कानुनसम्मत करको दायरा हेरफेर गर्न र केही रकम बढाउन सकिने भएकाले सर्वसाधराण नागरिकलाई सेवा विस्तारमा थप सुविधा उपलब्ध गराइने बताए । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ लगायत विभिन्न मन्त्रीले विभिन्न मन्त्रालयका विषयमा छलफल उठेका प्रश्नहरूको जवाफ दिएका थिए।
प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि आजको बैठक स्थगित गरेकी छिन्।
प्रकाशित: २० असार २०८३ १७:५१ शनिबार





