२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

बब्लु गुप्ताको निर्वाचन खर्च १६ लाख ४० हजार

सिरहाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर-१ का उम्मेदवार बब्लु गुप्ताले आफ्नो निर्वाचन खर्चको विवरण सार्वजनिक गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय सिरहामा पेस गरिएको अनुसूची-४१ बमोजिमको विवरणअनुसार गुप्ताले चुनाव प्रचारप्रसारका क्रममा कुल १६ लाख ४० हजार २ सय १४ रुपैयाँ खर्च गरेका हुन्।

गुप्ताले पेस गरेको विवरणमा सबैभन्दा धेरै रकम वडा स्तरीय प्रचार कार्यक्रममा खर्च भएको देखिन्छ। उनले ४१ वटा वडामा सञ्चालन गरेको १५ दिने घरदैलो कार्यक्रममा मात्रै ७ लाख ७९ हजार रुपैयाँ खर्च भएको जानकारी दिएका छन्।

यसैगरी, १५ दिनको सवारी साधन भाडा बापत १ लाख ७५ हजार र ६ सय ७९ लिटर इन्धनमा ९६ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

प्रचार सामग्री छपाइ र कार्यालय व्यवस्थापनमा पनि उल्लेखनीय रकम खर्च भएको छ। नमुना मतपत्र, फ्लेक्स ब्यानर र स्टिकर छपाइमा १ लाख ८९ हजार ८ सय ४० रुपैयाँ खर्च भएको छ भने प्रचारप्रसारका झण्डा तथा ब्याच निर्माणमा १ लाख ८३ हजार ८ सय ५५ रुपैयाँ लागेको उम्मेदवार गुप्ताले खुलाएका छन्।

साथै, कार्यालयको पानी खर्चमा १ लाख १५ हजार ५ सय र स्टेसनरीमा ४१ हजार ५ सय ८४ रुपैयाँ खर्च भएको उनले पेस गरेको सूचीमा समावेश गरिएको छ।

विवरणअनुसार ७९ जना मतदातालाई दिइएको प्रशिक्षण कार्यक्रमको खाजा तथा खानामा ४९ हजार ४ सय ३५ रुपैयाँ खर्च भएको छ।

यसबाहेक मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ लागेको विवरणमा उल्लेख छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र आयोगको आचारसंहिता बमोजिम उम्मेदवार गुप्ताले उक्त खर्च विवरण प्रमाणित गरी निर्वाचन कार्यालयमा बुझाएका हुन्।

प्रकाशित: २७ फाल्गुन २०८२ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App