नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुशासनको कारबाहीमा परेकाहरूलाई माफी–मिनाहा दिने निर्णय गरेको छ। शनिवार केन्द्रीय कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
वर्तमान विकसित राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीभित्रको एकता कायम गर्दै लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्नु पर्ने राष्ट्रिय दायित्वलाई हेरेर भविष्यमा पार्टी हित विपरीत कुनै पनि कार्य नगर्न सचेत गराउँदै यस्तो निर्णय गरेको कांग्रेसले जनाएको छ।
यो निर्णय अनुसार विगतका निर्वाचनमा पार्टी उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उठेका, उम्मेदवारका प्रस्तावक र समर्थक बसेका वा असहयोग गरी अनुशासन समितिको कारबाही परेकालाई बाँकी अवधि माफी मिनाहा भएको छ।
‘यसरी कारबाही माफी–मिनाहा भएका व्यक्तिहरूको क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय यो बैठक गर्दछ,’ पार्टीको विज्ञप्तिमा भनिएको छ।
यस्तै विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका, अन्य पार्टीमा गएकाहरूलाई पनि घर फर्कन पनि कांग्रेस बैठकले आह्वान गरेको छ। ‘त्यसरी फर्किने साथीहरूलाई क्रियाशील सदस्यता सहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ,’ निर्णयमा भनिएको छ।
यस्तै कांग्रेसले आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यावसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।
यस्तै फागुन २१ को निर्वाचनका लागि समानुपातिक तर्फका ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रिया पनि सुरु गरेको छ।
यस्तै कार्यसम्पादन समितिको बैठक भोलि पनि बिहान ११ बजे बस्ने छ।
प्रकाशित: १२ पुस २०८२ १८:५० शनिबार





