जेनजी अभियन्ता माजिद अन्सारीले प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनलाई प्रधानमन्त्रीसँग निकट रहेको भन्दै फूर्ति नलगाउन आग्रह गरेका छन्। उनले विगतमा पनि विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्रीसँग निकट रहेको भन्दै शक्ति प्रदर्शन गरे पनि अन्ततः उनीहरूको अवस्था बदलिएको बताएका छन्।
अन्सारीले सामाजिक सञ्जालमार्फत बेनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट रहेका विष्णु रिमाल र गोकुल बाँस्कोटाको उदाहरण दिएका छन्। कुनै समय उनीहरूले पनि प्रधानमन्त्रीसँग निकट रहेको भन्दै फूर्ति लगाउने गरेको उल्लेख गर्दै उनले अन्तिममा उनीहरूको अवस्था के भयो भनेर प्रश्न गरेका छन्।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएका बेला कमल थापालगायतले सञ्चारगृहमा बन्दुकधारी शाही सेना पठाएर शक्ति प्रदर्शन गरेको प्रसङ्गसमेत उल्लेख गरेका छन्। त्यसबेला शक्ति प्रदर्शन गर्नेहरूको अवस्था पनि अन्ततः बदलिएको उनको भनाइ छ।
‘केपी ओलीको नभएको सत्ता यो देशमा अनन्तकालसम्म अरू कसैको पनि हुन सक्दैन,’ अन्सारीले लेखेका छन्।
उनले जनताले केपी शर्मा ओलीको अनुहारभन्दा पनि उनको अहङ्कारलाई अस्वीकार गरेको टिप्पणी गरेका छन्। अहिले सत्ता र शक्ति रहेको तथा जनताको विश्वाससमेत प्राप्त भएको अवस्थामा संयमित हुन उनले प्रधानमन्त्री पक्षलाई आग्रह गरेका छन्।
‘अहङ्कार त्याग्नुहोस्। सत्ता छ, शक्ति छ, जनताको अनावश्यक विश्वास पनि छ, सम्हालिनुहोस्,’ अन्सारीले लेखेका छन्।
पत्रकार पक्राउ प्रकरणमा सरकार र प्रधानमन्त्रीको सचिवालयमाथि प्रश्न उठिरहेका बेला प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनले सामाजिक सञ्जाल फेसबुकमा गरेको व्यङ्ग्यात्मक पोस्टले कारण अन्सारीले यस्तो आग्रह गरेका हुन् ।
बेनले आइतबार दिउँसो पत्रकारहरूलाई मेन्सन गर्दै आफूलाई पक्राउ गर्न तयार गरिएको भनिएको २८ पत्रकारको सूचीबारे टिप्पणी गरेका हुन्।
‘यो २८ जना पत्रकारमा को–को पर्या हो रु २८ मा नपर्ने नि के पत्रकार भन्नु हैन साथी हो,’ उनले फेसबुकमा लेखेका छन्।
प्रकाशित: १५ कार्तिक २०८३ १८:०९ आइतबार





