११ वैशाख २०८३ शुक्रबार
image/svg+xml
राजनीति

सामर्थ्यको अर्को नाम सुशीला

सुशीला कार्कीको जीवनमा तीन पटक अवकासको समय आयो। पहिलो, उनी सर्वोच्च अदालतमा बेन्चमै रहेका बेला महाभियोगको प्रस्ताव संसद्मा दर्ता गराएपछि जिम्मेवारीबाट हट्नुपर्‍यो। यो परिस्थिति सहज थिएन। न्यायालयकै आदेशले फेरि उनी काममा फकिइन्।  

दोस्रो, उनी प्रधानन्यायाधीशको जिम्मेवारी पूरा गरेर बिदा भइन्। यो अवस्था भने सहज थियो। सामान्यतः न्यायाधीशहरू राज्यले तोकेका खास जिम्मेवारीमा जानेबाहेक पुनः पदमा फर्किंदैनन्। तर, तेस्रो पटक उनको जीवनमा यस्तो मौका आयो, जतिबेला उनले जिम्मेवारी पूरा गरेर आफ्नो घरमा फर्केपछि सबैभन्दा मिठो निद्रा लिइन्।  

हो, हामी उनै सुशीला कार्कीबारे कुरा गर्दै छौं। २०८२ भदौ २३ गतेको जेनजी विद्रोहपछि १९ जना कलिला युवाको गोली हानी हत्या भयो। त्यो घटनाले उनको जीवनमा आमूल परिवर्तन ल्यायो। उनी घाइतेहरूलाई भेट्न भोलिपल्ट निजामती कर्मचारी अस्पताल बानेश्वरमा पुगिन्।  

आक्रोशपूर्ण त्यो दिनमा सिंगै नेपाल जलिरहेको थियो। सिंहदबार, सर्वोच्च अदालत, प्रहरी कार्यालय चारैतिर आगोका लप्काले खाइरहेको थियो। व्यक्तिका घर, व्यवसाय ध्वस्त भइरहेका थिए। उनी आफैं दिनभरि एउटा कठिन समयमा यी घटनाको साक्षी भइरहेकी थिइन्।  

नेपालको अगाडि एउटा अनिश्चित भविष्य उभिएको थियो। देशले एउटा विश्वासिलो व्यक्तिको खोजी गरिरहेको थियो, जसले यो आगजनी, ध्वंस र आपत्बिच जिम्मेवारी लिन सकोस्।  

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई यो गुरुत्तर दायित्वका निम्ति युवाहरूले छाने। उनले जिम्मेवारी लिइदिनुपर्छ भन्ने आग्रह भयो। त्यो आग्रह राष्ट्रपति रामचन्द्र पौडेलदेखि प्रधान सेनापति अशोकराज सिग्देलसम्मको थियो। विक्षिप्त अवस्थामा रहेका युवाको आशा पनि उनैमा अडिएको थियो। अर्थात् तिनका निम्ति ‘जेनजी आमा’को भूमिका पनि उनले निर्वाह गर्नुपर्ने भयो।  

असोजमा उनी र उनका पति दुर्गा सुवेदीको विदेश यात्रा तय भइसकेको थियो। तर, देशभित्र उनकै माग थियो। त्यो महासंग्रामबिच भदौ २७ गते उनले जिम्मेवारी लिँदा प्रधानमन्त्री निवास बालुवाटारमा निरव शून्यता छाएको थियो।  

हो, शून्यबाट सुरु गर्ने भनेको यही हो। मुलुकमा रहेको अनिश्चितता, अस्थिरता र अविश्वासबिच उनले सुरु गरिन् आफ्नो गम्भीर जिम्मेवारी।  

मुलुककै इतिहासमा पहिलो पटक महिलालाई प्रधानमन्त्रीको जिम्मेवारी दिएर कठिन कार्य सम्पन्न गर्न खोजिएको थियो। संयोग पनि यस्तो रह्यो, उनी नै मुलुकको पहिलो प्रधानन्यायाधीशसमेत बन्न पुगिन्।  

सम्भवतः भविष्यमा प्रधानन्यायाधीश र प्रधानमन्त्री दुवै जिम्मेवारी पूरा गर्ने कुनै महिलालाई अवसर नआउन पनि सक्छ। एउटा विषम परिस्थितिले मात्र यस्तो जिम्मेवारी पूरा गर्ने अवसर आउँछ।  

मुलुकको इतिहासमा सम्भवतः गत फागुन २१, २०८२ को निर्वाचन मात्र एउटा हो, जसमा एउटा पनि गोली चलेन र एक ठाउँमा पनि झडप हुन पाएन। निर्वाचन यति शान्तिपूर्ण हुनुमा प्रधानमन्त्री कार्कीको समर्पणलाई कारक मान्न सकिन्छ।  

प्रधानमन्त्री बनेको पहिलो महिना हामीले उनलाई भेटेका थियौं। त्यो बेला उनले अन्तर्वार्ताका क्रममा सुरुका कैयन् रात राम्ररी निदाउन नसकेको उनले बताएकी थिइन्। अवकाश जीवनमा आरामसँग बस्ने भन्ने उनको चाहना प्रधानमन्त्री भएपछि रोकिएको थियो। त्यति मात्र होइन उनले त्यो बेला रातरातभर बैठक गर्नुपरेको थियो।  

राष्ट्रपतिसँग कुराकानी गर्न गएकी उनले अनायासै प्रधानमन्त्री पदको सपथ लिनुपरेको थियो। त्यो दिनको पहिरनले पनि उनी त्यसका निम्ति गएकी होइनन् भन्ने बुझिन्छ। सपथग्रहण गरेपछि उनी घर पुगेर केही सामग्री लिएर जाउँला भन्नेमा थिइन्। तर, सुरक्षाका कारण उनी फेरि फर्केर घर जान पाइनन्।  

प्रधानमन्त्री बनेर बालुवाटारमा बस्न जोसुकैलाई रहर लाग्ने पक्ष हो। तर, कार्की जस्तो अवस्थामा प्रधानमन्त्रीको जिम्मेवारीमा बालुवाटारमा पुगिन्, त्यो कसैका निम्ति पनि चाहना हुँदैन। उनीमाथि जेनजी युवाहरूले कैयन् धाकधम्की पनि दिएका थिए। उनीमाथि आक्रमण हुँदै छ भन्ने चेतावनी पनि उनलाई उत्तिकै आउँथ्यो। यो सबैबाट उनले आफूलाई निर्भय राख्दै काममा जुटिरहिन्।  

निर्वाचन सम्पन्न गरेको दिन साँझदेखि उनको प्रशंसामा अनेकन् स्टाटस लेखिए। ‘तपाईंले नेपाल बचाउनुभयो आमा’ भन्दै गुणगान गरियो। संस्कृतका श्लोकसहित उनको महिमामण्डन भयो। तर, अन्तिम समयमा लिइएका दुई निर्णयले उनीमाथि हिजोसम्म प्रशंसा गर्नेलाई फेरि आलोचनाको छुरी चलाउने मौका दियो।  

गाली र ताली जीवनमा समान रूपमा प्राप्त हुन्छन्। तैपनि उनलाई भविष्यसम्म सम्झनेहरूले ऐतिहासिक जिम्मेवारी इमानदारीपूर्वक सम्पन्न गरेकोमा सम्झिरहने छन्।  

धेरै मानिस उनी प्रधानन्यायाधीश हुँदा गरेका निर्णयबाट प्रभावित थिए। आफूलाई लागेका कुरा निर्धक्कसँग भन्न सक्ने उनको स्वाभाव रहेको छ। कुनै कुरा लुकाउनु नपर्ने भएपछि मानिस यसरी ढुक्कै बोल्नसक्ने बन्छ। उनको यही स्पष्टतालाई बुझेर एक कार्यक्रमका दौरान उनलाई प्रधानमन्त्री भनेर सम्बोधन गरिएको थियो।

उनलाई प्रधानमन्त्री बन्छु भन्ने लागेको थिएन। तर, उनको इमानदारिताबाट जानकार ती सर्वसाधारणले झुक्किएर दिएको प्रधानमन्त्रीको उपाधि यथार्थमा परिणत भयो। र, यो एउटा दबाबजस्तो पनि बन्न पुग्यो उनका निम्ति।  

उनी भन्छिन्, ‘कहिलेकाहीं मनमा आउँथ्यो– ‘छोडेर भागौं।’ तर फेरि लाग्थ्यो– ‘भागेको भए मानिसहरूले भन्थे– हेर, महिलाले के गर्छन् ?’ त्यो भनाइले मलाई जगायो।’

उनी अगाडि थप्छिन्, ‘एक रात मैले ती सबै महिला सम्झेँ जसले मलाई आशाले हेरेका थिए। ती आँखाको जवाफ दिन म बाध्य थिएँ। र मैले दिएँ जवाफ– काम गरेर, सत्य बोलेर, इज्जत जोगाएर।’

उनी साँच्चिकै प्रधानमन्त्री बनिन्, त्यो पनि मुलुकको विषम परिस्थितिमा। चुनौतीपूर्ण नेतृत्वकी पर्याय कार्कीको जीवन अहिले अवकाशमा बितिरहेको छ। तर, उनको योगदानका निम्ति मुलुक नतमष्तक छ। काम गर्ने समय लामो थिएन तर त्यसले नेपालको इतिहासमा लामो समयसम्म प्रभाव पारिरहने छ। अवकाश जीवन यस्तो होस् जसलाई सम्झेर बाँकी जीवन रोमाञ्चक बनिरहोस्। 

प्रकाशित: ११ वैशाख २०८३ १८:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App