नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले जनताको लामो संघर्षबाट प्राप्त संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रका उपलब्धि कमजोर बनाउने प्रयास कदापि स्वीकार्य नहुने बताएका छन्।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङदेम्बेले आदिवासी जनजाति समुदायले नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।
उनले संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको भन्दै यी उपलब्धि कसैको दया वा कृपाबाट नभई लामो संघर्षको परिणाम भएको बताए।
सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरूले संघीयता, धर्मनिरपेक्षता, समावेशिता तथा लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ संकेत गरेको उनको टिप्पणी छ।
आङदेम्बेले संविधानमा देखिएका कमजोरी र व्यवहारिक समस्या संशोधन तथा परिमार्जनमार्फत सुधार गर्न सकिने बताए। तर जनताको संघर्षबाट प्राप्त उपलब्धि नै समाप्त पार्ने प्रयास भने स्वीकार्य नहुने उनले स्पष्ट पारे।
आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व र पहिचानसहितको संघीयता संस्थागत गर्नुपर्ने बताए।
विश्व आदिवासी दिवसका अवसरमा उनले समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्पलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल तथा विश्वभर रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन्।
प्रकाशित: २४ श्रावण २०८३ ०८:५४ आइतबार





