२४ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

विश्व आदिवासी दिवसको शुभकामना दिँदै सरकारलाई महासचिव पोखरेलको तीन बुँदे सुझाव

आज अगस्ट ९, अर्थात विश्व आदिवासी दिवस। विश्वभरका आदिवासी जनजातिहरूको अधिकार, पहिचान, भाषा, संस्कृति र इतिहासको सम्मान गर्दै ‘विश्व आदिवासी दिवस’ मनाइँदै छ। यस ऐतिहासिक अवसरमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण आदिवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।

उनले नेपाल प्राकृतिक रूपमा मात्र नभइ सांस्कृतिक, भाषिक र सामाजिक रूपमा पनि अत्यन्तै धनी भएको बताएका छन्। 

नेपालको यो विविधताको मुख्य जग नै आदिवासी जनजातिहरूको मौलिक संस्कृति, जीवनशैली, रैथाने ज्ञान र सभ्यता भएको बताउँदै उनले हिमाल, पहाडदेखि तराईसम्म फैलिएका ५९ भन्दा बढी सूचीकृत आदिवासी समुदायको योगदानबिना समृद्ध नेपालको कल्पनासमेत गर्न नसकिने जिकिर गरे।

'पूर्वजहरूले जोगाएर राखेको प्रकृतिमुखी जीवनशैली, जल, जलजमिन र जङ्गलसँगको प्रगाढ सम्बन्ध तथा परम्परागत ज्ञान आजको पर्यावरण संकटको युगमा सम्पूर्ण मानव जातिका लागि मार्गदर्शन बन्न सक्छ,' सामाजिक सञ्जालमार्फत उनले भने।

यस्तै, नेपालको संविधानले आदिवासी जनजातिको अधिकार, पहिचान र समावेशितालाई आत्मसात् गरेको तर व्यवहारमा अझै पनि चुनौतीहरू रहेको बताउँदै समाज र राज्यले आदिवासी जनजातिका सन्दर्भमा विशेष ध्यान दिन आवश्यक रहेको भनाइ राखे।

यस्तो छ उनको तीन बुँदै सुझाव:

• भाषा र संस्कृतिको संरक्षण: कतिपय आदिवासी भाषाहरू लोप हुने अवस्थामा पुगेका छन्। तिनको संरक्षण आवश्यक छ। मातृभाषामा शिक्षा पाउने संवैधानिक अधिकारको पूर्ण कार्यान्वयन अझै हुन सकेको छैन।त्यसको कार्यान्वयनमा जोड़ दिनु पर्दछ।

• थातथलो र प्राकृतिक स्रोतको संरक्षण: विकासका नाममा हुने भू-विस्थापन र प्राकृतिक स्रोत-साधनमाथिको पहुँचको मुद्दाहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आवश्यक छ।

• पहुँच र प्रतिनिधित्व: राज्यका हरेक निकायमा समानुपातिक र अर्थपूर्ण प्रतिनिधित्वलाई समुदायको समग्र विकासमा जोड्नु आवश्यक छ।

प्रकाशित: २४ श्रावण २०८३ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App